विदेशबाट आएका नेपालीलाई ‘क्वारेन्टाइन’ गर्न स्थानीय तहहरुलाई निर्देशन

news

काठमाडौं, चैत १३ । स्वास्थ्यसचिव यादवप्रसाद कोइरालाले विदेशबाट आएका नेपालीहरुलाई स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा ‘क्वारेन्टाइन’ गर्नुपर्ने बताएका छन् ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले विदेशबाट आएका प्रत्येक व्यक्तिको स्वास्थ्य अवस्थाको दिनहुँ अनुगमन गर्न र समस्या देखिए परीक्षणका लागि लैजान निर्देशन दिए ।

त्यसको रिपोर्ट दैनिकरुपमा गृह मन्त्रालयमा बुझाउन प्रत्येक स्थानीय तहका प्रमुखलाई आग्रह गरिएको छ ।

कोरोनाभाइरसको उपचार गराउन केन्द्र र प्रदेशमा गरी छुट्याइएका २५ ओटा ‘हव’ अस्पतालहरुमा ज्वरो, खोकी लागेका बिरामीको स्वास्थ्य परीक्षण गर्न स्थापना गरिएको फिवर क्लिनिक सञ्चालन गराउन १० लाख रकम पठाएको र कोरोना देखिएका बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउने सचिव कोइरालाले बताए ।

करारमा स्वास्थ्यकर्मी नियुक्त गरिने

यसैबीच, मन्त्रालयले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि करारमा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ ।

मन्त्रालयले ३४ जना चिकित्सक र १०० नर्स नियुक्त गर्ने भएको हो ।

मन्त्रालयले सूचना प्रकाशन गरी इच्छुक चिकित्सक र नर्सलाई आवेदन दिन आग्रह गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...