
एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी तेल खरिदलाई निरन्तरता दिने युरोपेली राष्ट्रहरूलाई युक्रेनी मानिसको रगतबाट पैसा कमाइरहेको टिप्पणी गर्नुभएको छ ।
बीबीसीसँगको साक्षात्कारमा राष्ट्रपति जेलेन्स्कीले जर्मनी र हङ्गेरीलाई तोकेरै उनीहरूले इन्धन बिक्रीमा प्रतिबन्ध लगाउने प्रयासलाई अवरुद्ध तुल्याइरहेको आरोप लगाउनुभयो । यो वर्ष मात्रै रुसले तेल बेचेर ३ सय २६ अर्ब अमेरिकी डलर कमाउने अनुमान गरिएको छ ।
साथै उहाँले यो पैसा र व्यापारको मात्रै विषय नभई जीवन रक्षाको विषय समेत भएकाले युक्रेनी जनताको रगतबाट पेट्रोल किन्न तत्काल बन्द गर्न आग्रह गर्नुभयो । जेलेन्स्कीले युद्धकाबीच युक्रेनलाई थप हतियार उपलब्ध गराइदिन युरोपेली राष्ट्रहरुसँग पुनः माग गर्नुभयो ।
जेलेन्स्कीले बल प्रयोग गरेर सम्पूर्ण युक्रेनमाथि नियन्त्रण कायम गर्ने प्रयासबाट उनीहरू पछि हटेको जस्तो देखिए पनि उनीहरूको आक्रमण जारी नै रहेको पनि बताउनुभयो । रुस र युक्रेनबीचको युद्ध भएको २ महिना पुग्न लाग्दा सयौंको मृत्यु भएको छ भने लाखौं पलायन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्