
काठमाडौं । इन्धनको मूल्य आकाशिएसँगै बैशाख १ गतेबाट काठमाडौं उपत्यका सहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनहरूमा भाडा बढेको छ ।
बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबारदेखि उपत्यकासहित बागमती प्रदेशका सार्वजनिक सवारी साधनमा भाडा बढाउने निर्णय गरेपछि उपभोक्ताको मारमा परेका छन् ।
नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रुपैयाँ भएको छ । मन्त्रालयको सूचनाअनुसार पाँच किलोमिटर सम्म २०, १० किलोमिटर २५, १५ किलोमिटर ३०, २० किलोमिटर ३३ र २० किलोमिटरभन्दा माथिको ३८ रुपैयाँ तोकिएको छ ।
तर कतिपय सार्वजनिक यातायातका चालक पुरानै भाडा दर कायम रहेको बताउँछन् । आफूकहाँ अहिलेसम्म समितिबाट लिस्ट नआइसकेकाे उनीहरूकाे भनाइ छ । यद्यपि इन्धनको मूल्य बढ्दा कमाएकाे पैसाे पेट्राेल पम्पमा बुझाउँदा ठिक्क हुने उनीहरू बताउँछन् ।
यस्तै सरकारले ट्याक्सीको भाडा पनि बढाएको छ । तर, नयाँ भाडादर अनुसार यात्रुले भाडा दिन नमान्दा ट्याक्सी चालकहरू दिक्क छन् । सरकारले जतिपटक समायोजन गरे पनि आफ्नो समस्या बीसको उन्नाइस नभएको उनीहरूको गुनासो छ ।
आफूहरूले यातायात, घरेलु र प्यान गरी तीन ठाउँमा राजश्व तिरे पनि त्यो अनुसारको सुविधा पाउन नसकेको उनीहरूको गुनासो छ । यद्यपि भाडा बढ्दा भने केही राहत महसुस गरेको उनीहरू बताउँछन् ।
यता यात्रुहरू भने बारम्बारको मूल्यवृद्धिले आक्रोशित छन् । महंगी दिनप्रतिदिन बढे पनि आम्दानी नबढ्दा आफूहरूको ढाड सेकिएको उनीहरू बताउँछन् । जनताको समस्यामा सरकार रमिते बनेका उनीहरूको आरोप छ ।
पछिल्लो सरकारी निर्णयले कसैको भलो गरेको छैन । सबैको अभिभावक मानिने सरकारले निर्णय गर्नुअघि त्यसको बहुआयामिक प्रभावका बारेमा छलफल हुनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्