
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी सरगर्मी बढेसँगै आगामी स्थानीय तहको निर्वाचन रोचक हुने देखिएको छ ।
गठबन्धनलाई सत्तारुढ दलका जिल्ला नेताहरूले सहज रूपमा लिए पनि सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा सात स्थानीय तहका ५२ वडाहरूका लागि हुने निर्वाचन हुनेछ ।
१ लाख ३९ हजार चार सय २० जनसंख्या रहेको डडेल्धुरा जिल्लामा ९० हजार १ सय १९ जना मतदाता रहेका छन् । गत चुनावमा जिल्लामा चारवटा स्थानीय तहमा कांग्रेस, २ वटामा एमाले र एक स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जितेको थियो ।
जिल्लाका स्थानीय नेताहरू अहिले टिकटका लागि संघीय राजधानीको दौडमा छन् । जिल्लामा कुनै पनि पार्टीले उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । स्थानीय नेताहरू जनता फकाउने भन्दा नेता रिझाउने होडमा छन् ।
यसअघि निर्वाचित जनप्रतिनिधिहरूबाट असन्तुष्ट आम सर्वसाधारण कतिपय स्थानमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिनुभएका स्थानीय सुरत तमोली, राजनीतिक दलहरू आश्वासनमात्र दिएर काम नगरेकाले आफूले उठ्नुपरेको बताउनुहुन्छ ।
अर्कोतिर, अधिकांश जनताले स्थानीय निर्वाचनमा गठबन्धन गरेर उम्मेदवारी दिन लागेको रुचाएका छैनन् । उनीहरू हरेक दलले फरक–फरक उम्मेदवार उठाउनुपर्ने र स्थानीयले छान्न मौका दिनुपर्ने बताउँछन् ।
नेपाली कांग्रेस पार्टीमा आबद्ध अमरगढी नगरपालिकाका प्रमुख उम्मेदवारका आकांक्षी हरि प्रसाद भट्ट पार्टीले आफूलाई नै आधिकारिक उम्मेदवार बनाउनेमा ढुक्क हुनुहुन्छ । आबद्ध दलबाट आधिकारिक उम्मेदवारी नपाए जनताको भावना समेट्ने गरि आवश्यक निर्णय गरिने उहाँको भनाइ छ ।
उम्मेदवार छनोट गर्न दलहरू रस्साकस्सीमा लाग्दा डडेल्धुराका स्थानीय जनताको चासो भने राजनीति भन्दा विकासमा केन्द्रीत छ । स्थानीय तह राजनीति गर्ने थलो नभएको भन्दै विकास गर्ने, भ्रष्टाचार नगर्ने, कार्यकर्तालाई नपोस्ने र सबैलाई न्यायोचित व्यवहार गर्ने व्यक्तिलाई जिताउनुपर्नेमा स्थानीयको एकमत छ ।
प्रतिक्रिया दिनुहोस्