२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बुद्धकृष्णले नवाैंपटक छेडाए जिब्राे


143
Shares

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा प्रत्येक वर्षजस्तै यसवर्ष पनि जिब्रो छेड्ने जात्रा शुक्रबार सकिएको छ ।

यसपटक स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउनुभएको छ । पछिल्लो पटक जिब्रो छेडाएका ४९ वर्षीय बुद्धकृष्णले यो पटक पनि नवौँपटक जिब्रो छेडाउनुभएको हो ।

जिब्रो छेडिसकेपछि श्रेष्ठले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्नुभएको छ । बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

बुद्धकृष्ण एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष र कोरिया नेपाल मैत्री अस्पतालमा एम्बुलेन्स चालकका रुपका कार्यरत हुनुहुन्छ । उहाँले पहिलोपल्ट २०६२ सालमा जिब्रो छेड्नुभएको थियाे ।

त्यसपछि उहाँले २०६५ सम्म निरन्तर रूपमा जिब्रो छेड्नुभएको थियो । जिब्रो छेर्ने जात्राको लागि पहिला बजेटको व्यवस्था थिएन । पहिला जसले जिब्रो छेड्ने हो उसले इष्टमित्रलाई भोज खुवाउनुपर्ने थियो । तर, अहिले भने मध्यपुर थिमि नगरपालिकाले यसको लागि गतवर्षदेखि एक लाख रुपैयाँ दिने गरेको छ।

जिब्रो छेडाउनु अघि दुई दिन अगाडिदेखि भोकै बस्ने गर्दछन् । नखाई बस्दा जिब्रो मर्ने र स्वाद थाहा नपाउने हुँंदा नदुख्ने बताइन्छ । दुई दिन पछि जिब्रो छेड्ने दिन भुटेको तोरीको तेलमा एक महिनादेखि डुबाइ राखेको करिब एक फिट लामो सियोले जिब्रो छेड्ने गरिन्छ । जिब्रो छेड्ने दिन विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाउने परम्परा छ ।

जिब्रो छेड्ने व्यक्तिलाई सम्मानको रूपमा बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ । त्यसपछि जिब्रो छेड्नुअघि शक्ति पिठहरूको दर्शन गरिन्छ । जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गरी जात्रा समापन गरिन्छ ।

सयौँ वर्षदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा कोरोना संक्रमणका कारण २०७६ सालमा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाएको हो । जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।

हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् । अहिलेसम्म १९६९ देखि १९९० सालसम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, १९९१ देखि २०२२ सालसम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ सालमा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सालसम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ सालमा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सालसम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सालसम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सालसम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ सालमा मुनि घों श्रेष्ठले एक, २०४८ सालमा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सालसम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सालसम्म तथा २०७३ देखि २०७९ सम्म नौ पटक र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।