
परासी । सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी बालबालिका छुटेका छन् ।
१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान जिल्लामा चैत २२ देखि ३० गतेसम्म सञ्चालन गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले ति उमेर समुहका कुल १ लाख ४ हजार २ सय ८६ बालबालिकालाई खोप लगाउने लक्ष्यसहित अभियान सुरु गरेको थियो । जसमा १ लाख १ हजार १ सय ९१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालयका मलेरिया इन्स्पेक्टर देविलाल पौडेलले जानकारी दिनुभयो ।
छुटेको संख्या ३ हजार ९५ छ । १ लाखबढी बालबालिकामा त्यतिको संख्यामा छुट्नु सामान्य भएको पौडेलले बताउनुभयो । केही खोप लिन छुटेकामा विद्यालय बाहिर रहने उमेर समुहका र केही जानकारी नपाएर आउन नसकेको तथा केही बाहिर गएकाले आउन नसकेको हुन सक्ने पौडेलले बताउनुभयो ।
छुटेकालाई फेरि खोप लगाइने छैन । नियमित खोप लगाउन बाँकी रहेका उमेर समुहका बालबालिकालाई मात्र खोप लगाउन जाने क्रममा लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ७ स्थानीय तहमा ३ सय २२ खोप केन्द्रमार्फत खोप लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्