
पर्वत । अमेरिकाको मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले मुलुकको विकासका लागि सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
एक साताको नेपाल भ्रमणका लागि आउनुभएका सांसद भण्डारीले गृह जिल्ला पर्वतमा आयोजित स्वागत कार्यक्रममा बोल्दै राजनीतिक दलहरू जुनसुकै विचारबाट अघि बढे पनि मुलुक विकासको एउटै स्वार्थ हुनुपर्ने बताउनुभयो ।
‘लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिस्पर्धानै हो, जुनुसुकै दलहरू शक्तिमा पुगे पनि विकास मुख्य एजेण्डा हुनुपर्छ तबमात्र देशको विकास तीव्र गतिमा हुन्छ,’ सांसद भण्डारीले भन्नुभयो, ‘लोकतन्त्र बलियो बनाउनका लागि विश्वसनियता, पारदर्शिता र मानवअधिकारको रक्षा गर्नुपर्छ, अमेरिका त्यसैले शक्ति राष्ट्र भएको हो ।’
गरिब देशहरूले विकसित देशहरूको अनुशरण गरेर पनि विकास गर्न सकिने भन्दै भण्डारीले अन्य देशका राम्रा पक्षलाई अनुशरण गर्नुपर्ने बताउनुभयो । उहाँले आफू सांसद रहेको मेरिल्याण्ड राज्य र पर्वत जिल्लालाई जोड्न प्रयासरत रहेको बताउनुभयो ।
सांसद भण्डारीले मेरिल्याण्ड राज्यमात्र नभई अमेरिकामा रहेका नेपालीहरूको हक हित र सुःखदुःखमा साथ दिनका लागि आफू हरदम सक्रिय रहँदै आएको बताउनुभयो । एमसीसी नेपालमा आउनु सुखद पक्ष भएको बताउँदै उहाँले यसले नेपालको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पर्वतको फलेवास नगरपालिका–२ थापाठानामा जन्मिनुभएका भण्डारी मावि तहको शिक्षा गाउँमै सक्नुभएको थियो । उहाँ दुई दशकदेखि अमेरिकामा बस्दै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्