
काठमाडौं । उपाधि दावेदार म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुल एफ.ए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति वेम्बले रंगशालामा भएको खेलमा लिभरपुलले सिटीलाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले दुई गोल गर्दा इब्राहिमा कोनाटोले एक गोल थपे । पराजित टोली सिटीका ज्याक ग्रिएलिस र बर्नार्डो सिल्भाले दुई गोल फर्काए पनि टोलीको हार टार्न भने सकेनन् ।
खेलको नवौं मिनेटमा इब्राहिमाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए । ४५ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुललाई ३–० को अग्रता दिलाए । ४७ औं मिनेटमा सिटीका ग्रेलिसले गोल गर्दै खेल ३–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सिटीका सिल्भाले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए पनि खेल लिभरपुलले ३–२ ले जित्यो ।
यो जितसँगै लिभपुलले सिजनमा चार उपाधि जित्ने सम्भावनालाई जिवित राखेको छ । लिभरपुलले अब एफ.ए कपको उपाधिको लागि चेल्सी र क्रिष्टल प्यालेसबीच आज आइतबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्