२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु, १३ घाइते


156
Shares

काठमाडौं । सुर्खेत, सप्तरी र बझाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् ।

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो पल्टिँदा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० वर्षीय पदम बहादुर रासकोटीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ

दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ वर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन, ४२ वर्षीया पुर्णकला पुनको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, सप्तरीको रुपनी गाँउपालिका–५ मुसहरनिय बसबिटीमा शनिबार राति ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर नियन्त्रण गुमाएर पल्टिँदा चालक स्थानीय २८ वर्षीय रविन्द्र यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार स्थानीय ७१ वर्षीय भरत यादव र उनका १७ वर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, बझाङको बित्थडचिर गाँउपालिका–४ देउलेख बजार नजिक शनिबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

चैनपुरबाट धनगढीतर्फ आउदै गरेको सुदुर पश्चिम प्रदेश ०१(००१ च ००९५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा जिपमा सवार सुर्मा गाँउपालिका-१ का २७ वर्षीय विनोद बोहोराको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते मध्ये ७ जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ भने एक जनालाई उपचारको लागि धनगढी पठाइएको छ ।