
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताउनुभएको छ । उहाँले पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने बताउनुभएको छ ।
पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले, ‘हामीले भरतपुर महानगरपालिका नै चाहिन्छ भनेका छैनौं । हामीलाई काठमाडौं भए पनि हुन्छ । अरू कुनै महानगरपालिका भए पनि हुन्छ । बाहिर भनेजस्तो हामीले भरतपुर नै चाहिन्छ, रेणु नै चाहिन्छ भनेका छैनौं ।’
महानगरपालिको विषयमा सहमति नजिक पुगिसकेको भन्दै उनले उपमहानगरपालिकाको विषयमा पनि सहमतिअनुसार नै अगाडि बढ्ने बताउनुभयो । अहिले पाँचदलीय गठबन्धनको बैठक र कार्यदलको बैठकमा छलफल भइरहेको र आजै वा भोलिसम्ममा टुंगोमा पुगिने बताउनुभयो ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी दिनुभएको छ ।
अध्यक्ष दाहालले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताउनुभएको हो ।
‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला । एउटा त माओवादीले पाउला,’ उनले भने, यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ।’
भागबन्डाका विषयमा सोमबार नै सहमति हुने दाहालले जानकारी दिनुभयो । सोमबार बिहान बसेको बैठक दाहालको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ । सोमबार नै बस्ने बैठकमा ६ महानगर र ११ उपहानगरमा भागबन्डामा सहमति जुटाउने दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्