
पोखरा । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच तालमेल गरेर स्थानीय तहको निर्वाचनमा होमिने अन्तिम तयारी भइरहँदा पोखरा महानगरपालिकामा भने सत्तागठबन्धनकै दलहरूबीच सम्बन्ध टुटेको छ ।
नेपाली कांग्रेस कास्कीले सोमबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत (समाजवादी) ले मेयरमा अडान नछाडेपछि स्थानीय तहको निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित निर्वाचनमा जाने निर्णय गरेको जनाएको हो ।
सत्तागठबन्धनको सबैभन्दा शीर्ष दल कांग्रेसले मेयरमा आफ्नो दलको उम्मेदवार हुनुपर्ने अडानमा छ । विज्ञप्तिमा कांग्रेस कास्कीका सचिव भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले संयुक्त हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एकीकृत (समाजवादी)को अस्वभाविक दाबीका कारण निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहतका निकायको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुूसँग तालमेलका लागि वार्ता र संवाद अगाडि बढाउने र नेकपा एकीकृत (समाजवादी)सँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’
साथै पोखरा महानगरपालिकाको प्रमुखका सम्बन्धमा सञ्चारमाध्यममा आएको हल्लाका पछाडि नलाग्न समेत सम्पूर्णलाई अपिल गरिएको छ ।
आइतबारमात्रै कांग्रेसका तर्फबाट मेयरका लागि १८ जना र उपमेयरका लागि १० जनाको सूची लिइसकेको छ । समाजवादीबाट पनि मेयरका लागि १२ जनाको नाम संकलन गरेको जनाएको छ ।
दुवै दलबीच आ–आप्mनो अडान लिँदा पोखरा महानगरपालिकामा सोमबार बस्ने भनिएको सत्तागठबन्धनको बैठक पनि अनिश्चित बनेको छ ।
प्रतिक्रिया दिनुहोस्