
काठमाडौं । सरकारले घोषणा गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब डेढ महिना मात्र बाँकी छ ।
कोरोनाको बहानामा रोकिएको प्रतियोगिता आयोजना हुनु आफैंमा सुःखद पक्ष हो । तर, हतारमा प्रतियोगिता गर्दा राष्ट्रिय खेलकुदको लक्ष्य प्राप्त गर्न कठिन हुनेमा कतिपयको शंका छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ अदालतको फैसलापछि कार्यभारमा फर्किएसँगै खेलकुद क्षेत्रमा देखिएको अन्योल केही हटेको छ ।
नवौ रािष्ट्रय खेलकुदको मिति सार्वजनिक भइसक्दा खेलकुदको माहोल बन्ने देखिएको हो । मिति तोकिएपछि सदस्य सचिव टंकलाल घिसिङ खेलकुदमा होमिन आह्वान गर्छन् ।
प्रतियोगिता जेठ २२ देखि २८ गते पोखरामा हुनेछ । प्रतियोगिता आयोजना गर्दा जिल्ला, प्रदेश हुँदै खेलाडी छनोट हुने प्रावधान छ । तर, हतारमा हुन लागेको प्रतियोगितामा खेलाडीको छनोट प्रक्रिया कसरी हुने हो टुंगो लागेको छैन ।
मिति घोषणा भए पनि समय सीमा निकै छोटो भएको सरोकारवालाको टिप्पणी छ । आर्थिक लगानीका हिसावले समेत महत्वकांक्षी रहेको राष्ट्रिय प्रतियोगिता हतारमा गर्दा बास्तविक खेलाडी ओझेलमा पर्न सक्ने उनीहरूको चिन्ता छ ।
गौरबकै रूपमा हेरिने राष्ट्रिय प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधारदेखि मौसम निकै महत्वपूर्ण मानिन्छ । जेठ अन्तिम साताका लागि प्रतियोगिता तोकिएकाले बर्षातले खेल विथोल्न सक्ने सभावना पनि छ ।
मौसमका अलावा घोषित मितिमा फुटबल र क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुँदै छन् । क्रिकेट टिमले ओमान र अमेरिकासँग अमेरिकामा त्रिकोणात्मक श्रृंखला खेल्दैछ भने फुटबल टिमले एएफसी एसियन कप छनोट तेस्रो चरणमा कुवेत, जोर्डन र इण्डोनेसियासँग कुवेतमा खल्दैछ ।
प्रतिक्रिया दिनुहोस्