२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निर्वाचन विशेष : मेयर नपाउने निश्चित भएपछि राजीनामा, ४६ जिल्लाको मतपत्र छापियो


1.001k
Shares

काठमाडौं । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले आफूले घोराही उपमहानगरपालिकाले मेयर नपाउने निश्चित भएपछि पार्टीबाट राजीनामा दिनुभएको छ ।

केन्द्रीय सदस्य समेत रहेका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको हो । गौतम २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार थियो ।

अहिले पनि उहाँले घोराही उपमहानगरपालिकामा मेयरको दाबी गर्नुभएको थियो । तर आफ्नो भागमा मेयर नपर्ने भएपछि उहाँले पार्टी परित्याग गर्नुभएको हो । नारायणकाजी श्रेष्ठ निकट मानिने गौतमले आफूलाई पार्टीले सहयोग नगरेको गुनासो गर्दै आउनुभएको थियो । उहाँले माओवादीलाई गैरकम्युनिस्ट चरित्र देखाएको आरोपसमेत लगाउनुभयो । गौतमले माओवादी छोडेपछि कुनै पार्टीमा नजाने बताउनुभएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापिइसकेको जानकारी दिएको छ । आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भइसकेको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको बताउनुभयो । ती जिल्लाका लागि ९५ लाख थान मतपत्र छापिइ सकिएको बताउनुभयो । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको हो ।

दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमा छापिएको आयोगले जनाएको हो । आयोगले स्थानीय तह निर्वाचनका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ । यसपटक स्थानीय तहमा मतदाता संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेको छ ।

शान्तिपूर्ण, निष्पक्ष र उत्साहपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूहले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्वाचनमा भाग लिन पाउने वातावरणले मात्र लोकतन्त्र बलियो हुने बताउनुभयो । यसका लागि मतदाता शिक्षा तथा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउनु पर्ने र यस कार्यमा मिडियाको महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ थियो । साथै आचारसंहिताको उल्लंघन भएमा खबरदारी गर्न र जानकारी गराउन समेत प्रमुख जिल्ला अधिकारी रिजालले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।