
झापा । भारतको पश्चिम वंगाल र विहार राज्यसंग करिव १ सय ४५ किलोमिटर खुल्ला सिमाना रहेको झापा आफैंमा संवेदनशील जिल्ला हो ।
अझ, स्थानीय तहको निर्वाचन नजिकिएसँगै सुरक्षा जोखिम उच्च छ । त्यसमा पनि झापामा अनुमति प्राप्त व्यक्तिले हतियार नबुझाउँदा जोखिम झन् बढेको हो ।
जिल्ला सुरक्षा समन्वय समिति झापाले जिल्लामा रहेका सबै मतदान स्थलहरूको अनुगमन र निरीक्षण समेत गरेको छ ।
अनुगमन र निरीक्षण पछि २ सय ८६ वटा मतदान स्थलमध्ये ५१ वटा अति संवेदनशीm र १ सय ५३ वटा संवेदनशीलको सूचीमा छन् ।
मतदानस्थलहरूको वर्गीकरण गर्दै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई भयरहित बनाउन जिल्लामा दर्ता रहेका हतियार वुझाउन आग्रह गर्नुभएको छ । चैत ८ देखि गरिएको अनुरोधलाई अटेर गर्दा जिल्लामा सुरक्षा जोखिम झन् बढेको हो ।
झापामा कति अनुमति प्राप्त हतियार छन् यकिन तत्याङ्क जिल्ला प्रशासन कार्यालयसँग छैन । यकिन तथ्याङ्क नहुँदा प्रहरीको सहयोगमा सम्बन्धित इलाका मार्फत हतियार राख्ने मानिसको नाम ठेगाना संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।

खुला सिमानाका कारण झापामा साना हात हतियारको कारोबार हुने जोखिम बढिरहेका बेला अनुमति प्राप्त हतियार नै नबुझाइँदा जिल्लामा जोखिम बढ्ने निश्चित छ ।
तथापि शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालयले पहल कदमी शुरु गरेको छ ।
यता, झापा जिल्लामा स्थानीयतहको निर्वाचनको ६० प्रतिशत काम पूरा भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिनुभयो ।
झापामा राष्ट्रिय मान्यता प्राप्त ६ वटा दलसहित ३६ वटा दलले स्थानीय तहको निर्वाचन भाग लिन जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयले निर्वाचन क्षेत्रको निरीक्षण र अनुगमन गरे पनि अनुमति प्राप्त हतियार बेलैमा व्यवस्थापन नगर्ने हो भने निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा आशंका छ ।
प्रतिक्रिया दिनुहोस्