
काठमाडौं, चैत्र १६ । कोरोना भाइरसका कारण संसार नै झण्डै ठप्पझै बनेको छ । नेपाल त ६ दिनदेखि बन्दाबन्दीको अवस्थामा रहेको छ ।
यसले मानिसलाई मात्र ठप्प पारेको छैन, मानिसले पुज्ने देवस्थलहरु पनि रित्ता र सुन्ने बनाइदिएको छ ।
लकडाउन अर्थात् बन्दाबन्दी गरिएको छैठौ दिन हाम्रा संवाददाता पशुपतिनाथ परिसर पुग्दा यो पवित्र धार्मिकस्थल सुनसान देखियो ।
दर्शनका लागि दैनिक हजारौ संख्याका भक्तजन तँछाड मँछाड गर्ने पशुपति क्षेत्र अहिले सुनसान बनेको छ ।
मानौं शिवजी ध्यानमा लीन छन् र कोरोना नामक भाइरस भगाउने औषधिको खोजीमा जुटेका छन् । उनलाई कोलाहल प्रिय छैन र एकान्तवासमा छन् ।
मानिसलाई एकान्तवासमा पठाएर शिवजी पाशपत क्षेत्रमा संसारलाई जोगाउने कोरोनारुपी विषको औषधिको खोजीमा छन् ।
कोरोनाको त्रासका कारण मानिसको आगमन रोकिएपछि पशुपतिनाथका सबै ढोका बन्द गरिएका छन् ।
हुँदाहुँदा आर्यघाटमा मृत देह लिएर पुग्नेहरु नै पनि निकै कम छन् । अघिपछि बाँदरलाई दाना खुवाउन पुग्नेहरुको लाम पनि देखिन्न ।
मलामी त झन् देख्नै मुश्किल ! सरकारले नै मलामी पनि दश जनाभन्दा बढी जानलाई निषेध गरिसकेको छ । कोरोनाले संसारलाई त्रस्त बनाए पनि केही घाट भने चिता तयार गरेर बसिरहेका देखिन्थे ।
देखिन्छन् त मानव शून्य सडक, मन्दिर र जंगल आसपासमा बाँदरका केही थानको सलबलाहट ।
पाशपत क्षेत्रबाटः नारायणी लामिछाने
प्रतिक्रिया दिनुहोस्