१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजनीति, अर्थनीति र सामाजिक सम्बन्ध विश्वविद्यालयको शिक्षाबाट निर्देशित हुनुपर्छ : मन्त्री पौडेल


195
Shares

काठमाडौं । शिक्षा, विज्ञात तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकको समग्र राजनीति, अर्थनीति, सामाजिक सम्बन्ध र व्यवहारहरू विश्वविद्यालयको शिक्षाबाट निर्देशित हुनुपर्ने बताउनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको दशौं सभा एवं दोस्रो दीक्षान्त समारोहमा बोल्दै मन्त्री पौडेलले कुनै पनि राष्ट्रको सामाजिक तथा आर्थिक हैसियत त्यहाँको शिक्षाको स्तर र दिक्षित भएकाहरूको गुणस्तरले निर्धारण गर्ने बताउनुभयो ।

सूचना प्रविधिको विकास सहित ज्ञानको उत्पादन र विस्तार द्रुततर गतिमा भइरहेको भन्दै मन्त्री पौडेलले वर्तमान अवस्थामा विश्व शान्ति, विश्वभातृत्व, सहअस्तित्व र सहकार्य जस्ता मानवीय मूल्यलाई आत्मसात गर्दै नेपालको मौलिक पहिचान, ज्ञान र सीपलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै विश्वविद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई सीप र व्यवहारमा रूपान्तरण गरी शिक्षालाई रोजगारीसँग आबद्ध गर्दै जानु महत्वपूर्ण पक्ष भएको उहाँको भनाइ छ । राष्ट्रले अनुभुत गरेको जिम्मेवारीहरू पूरा गर्ने दायित्व दिक्षितहरूमा भएकाले कार्यरूपमा उतार्न समालोचनात्मक चिन्तन सहितको दृढ सङ्कल्प र प्रतिबद्धता व्यक्त गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

मन्त्री पौडेलले मुलुकको स्वार्थ र हितलाई केन्द्रमा राखेर देश र विश्वजगतको गौरवमय इतिहास, वर्तमानको यथार्थ र भविष्यको आवश्यकतालाई बोध गरी बदलिँदो समाजको सफल रूपान्तरणका लागि पनि शुभकामना दिनुभयो ।