
काठमाडौं । रुसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनाएपछि अमेरिका लगायतका पश्चिमा देशले थप हतियार सहयोग गर्ने भएका छन् ।
अमेरिका र अन्य देशकाे मंगलबार भर्चुअल बैठकमा भएकाे कुराकानीमा किभलाई तोपखाना, ट्याङ्क विरोधी र वायु रक्षा सहायता पठाउने बाचा गरेका हुन् । रुसले देशको पूर्वमा नयाँ अभियान सुरु गरेपछि युक्रेनले आफूलाई रक्षा गर्न हतियारको आवश्यकता रहेको भन्दै सहयोगको आग्रह गरेको थियो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘डोनबासका लागि लडाई’को सुरुवात भएको बताएका छन । राष्ट्रपति जेलेन्स्कीले युक्रेनमाथि नो–फ्लाई जोनको विकल्पको रूपमा सोभियत निर्मित वायु रक्षा प्रणाली र लडाकु विमानका लागि अमेरिकालाई अपील गर्दै आएका छन । पूर्वी डोनबासमा रहेका लुहान्स्क र डोनेट्स्क क्षेत्रहरूमा रूसले आफ्नो उपस्थितिलाई बलियो बनाउने प्रयास स्वरुप आक्रमण जारी राखेको छ ।
पश्चिमी नेताहरूले युक्रेनका लागि थप सैन्य सहायताबारे छलफल गरिरहेको समयमा रुसले आक्रमणलाई तीब्र बनाएको थियो। बैठकपछि अमेरिकी रक्षा विभागले थप सैन्य विमान र विमानका पार्टपूर्जा युक्रेनलाई सहयोग गर्ने बताएको छ । बैठकमा अन्य देशले पनि युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
बेलायत, जर्मनी र चेक गणतन्त्रले युक्रेनलाई हतियार निर्माताबाट एन्टि–ट्याङ्क हतियार र गोला बारुद किन्न थप आर्थिक सहयोग दिने र युक्रेनी ट्याङ्क र सशस्त्र सवारी साधनलाई युद्धमा क्षति पुग्दा मर्मत गर्ने बताइएको छ ।
अमेरिका र अन्य देशकाे भर्चुअल बैठकमा रूसविरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउने एजेन्डामा पनि छलफल भएको जनाइएकाे छ।
प्रतिक्रिया दिनुहोस्