१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


ललितपुरले छर्कियो, किटनासक औषधि


0
Shares

ललितपुर, चैत १६ । ललितपुर महानगरपालिकाले महानगरका वडाहरुमा किटनासक औषधि छर्कन सुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई न्यूनिकरण गर्न महानगरले शनिवारबार किटनासक औषधि छर्कन सुरु गरेको हो ।

कुपुण्डोल, पुल्चोक, जावलाखेल, महालक्ष्मीस्थान, लगनखेल सातदोबाटो, ग्वार्खोलगायतका क्षेत्रमा शनिवार किटनासक औषधि छर्किएको ललितपुर महानगरपालिका जिन्सी शाखाका प्रमुख सागर थापाले बताए ।

ललितपुर महानगरपालिकाको २३, २४, २७ , २९ लगायतका वडामा आइतबार उक्त औषधि छर्किएको जिन्सी प्रमुख थापाले जानकारी दिए । जिन्सी शाखाका प्रमुख थापाले सबै वडामा औषधि छर्किने बताए । वडा नं २७ का अध्यक्ष बाबुराज महर्जनले आइतबार बिहान किटनासक औषधि छर्किएको बताए ।

उनले भने, ‘भित्री सडकहरुमा तयारी गरेर छर्कन्छौ । वडा नं २४ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले आफ्नो वडामा आइतबार औषधि छर्किएको बताए ।

उनका अनुसार चोक ,गल्ली र मुलबाटोमा औषधि छर्किएको छ । वडा नं १८ का  अध्यक्ष पुरुषोत्तम खड्काले औषधिसहित त्यसका लागि आवश्यक सामग्री प्राप्त भएको जानकारी दिए ।

उनले भने, ‘आवश्यक व्यवस्था मिलाएर छर्किन्छौं ।’ उनका अनुसार सोमबार बिहानैबाट औषधि छर्कन सुरु गरिनेछ । वडा नं २९मा आइतबार औषधि छर्किएको छ ।

वडा नं २९का अध्यक्ष गणेश महर्जनले २९ वडाको मुख्य बाटो र भित्री बाटोहरुमा औषधि छिर्किएको बताए । ललितपुर महानगरपालिका वडा नं २४ले वडावासीहरुलाई घर बाहिर ननिस्कन आव्हान गर्दै स्वयसेवकमार्फत माइकिङ गरेको छ ।

साथै वडाभित्रका चियापसल लगायत मानिसहरु भेला हुने अन्य पसलहरु बन्द गर्न आव्हान गरेको छ । वडा नं २४ का अध्यक्ष दिनेश कार्कीले चिया पसलमा मान्छे जम्मा हुने भएका ती पसल बन्द गर्नका लागि माइकिङ गरेर अनुरोध गरेको बताए ।

उनले भने, ‘यो भाइरसको संक्रमण फैलन नदिन जनताको, वडावासीको सहयोग अपरिहार्य हुन्छ ।’ उनले अत्यावश्यक काम बाहेक अन्यमा घरबाट बाहिर ननिस्कन समेत अनुरोध गरे । प्रत्येक दिन बिहान वडामा खुलेका चियापसल बन्द गर्न अनुरोध गर्दै हिडेको बताए ।

त्यसैगरी विदेशबाट वडामा आएका छरछिमेककाबारे समेत जानकारी दिन वडावासीलाई आव्हान गरेको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमण देखिनु अघि नै मास्क र स्यानिटाइजर उत्पादन गरेको ललितपुर महानगरपालिकाले उत्पादित मास्क र स्यानिटाइजर वडामा पठाएको छ ।

नगरप्रमुख चिरीबाबु महर्जनका निजी सचिव राजु महर्जनका अनुसार तयार भएको मास्क वडामा पठाइएको हो । त्यसैगरी थप मास्क उत्पादनका लागि आवश्यक कच्चा पदार्थ समेत वडामा पठाइएको जानकारी उनले दिए ।

स्यानिटाइजर उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको बजारमा अभाव भएका अत्यन्तै कम परिमाणमा स्यानिटाइजर उत्पादन भएको स्पष्ट पारे ।

वडा नं २७ का अध्यक्ष बाबुराज महर्जनले महानगरबाट प्राप्त भएको मास्क घर घरमा वितरण गरेको जानकारी दिए । थोरै परिमाणमा प्राप्त भएको स्यानिटाइजर खुद्रा पसलमा राखिदिएका उनले बताए ।