
गृष्मा राजभण्डारी र भरत केसी (ईमेज)
काठमाडौं, चैत १६ । इटली र स्पेनलगाएतका युरोपेली मुलुक कोरोना संक्रमणको सबैभन्दा ठूलो मारमा परेका छन् । सरकारले सजग हुन आग्रह गरेपनि सर्वसाधारणले नटेरेपछि ति मुलुक यतिबेला भयावह अवस्थाबाट गुज्रिरहेका छन् ।
नेपालमा पनि त्यही नियती नदोहोरियोस् भनेर सरकारले पूरै मुलुक लकडाउन गरेको छ । तर धैरै मानिसले सरकारको आग्रहलाई लत्याइरहेका छन् ।
यसले समुदायलाई नै जोखिममा पारेको छ । लकडाउनको बेला कोही पनि अनावश्यक रुपममा सडकमा नआउन भनेर सुरक्षाकर्मी काठमाडौं उपत्यकामा अहोरात्र खटिरहेका छन् ।
प्रहरीले माइकिङ गरेर सर्वसाधारणलाई सचेत बनाइरहेको छ । फेरी पनि केही मानिसहरु सरकारको आग्रह अटेर गरिरहेका छन् ।
यस्ता व्यक्तिहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिने गरेको छ । केही प्रहरीको भ्यान देख्नेवित्तिकै भाग्ने गरेका छन् । अत्यावश्यक कामका लागि हिँडिरहेकाहरुलाई भने प्रहरीले सहयोग पनि गरेको छ ।
सर्वसाधारणको यो व्यवहारले दिनरात नभनि स्वास्थ्यलाई जोखिममा पारेर खटिएका सुरक्षाकर्मीलाई गिज्याएजस्तो भान दिइरहेको छ ।
लकडाउन सफल बनाउन काठमाडौं उपत्यका बाहिर केही जिल्लामा सेनासमेत परिचालन गरिएको छ । मुख्य सडकमा मानिसहरुको ओहोर दोहोर निकै कम भए पनि शहरका भित्रि गल्लीमा चहलपहल बढेपछि सचेत नागरिकले त्यसलाई नियन्त्रण गर्न माग गर्न थालेका छन्
भित्री गल्लीमा प्रहरीको गस्ती बढाउनु पर्ने उनीहरुको भनाइ छ । लकडाउनको पूर्ण पालना गराउन प्रहरीले थप रणनीति बनाउने तयारी गरिरहेको छ ।
अहिले भने प्रहरीले पक्राउ गरेकालाई केही समय नियन्त्रणमा लिइ छाड्ने गरेको छ । जुनसुकै बहानामा घरबाट बाहिर निस्कने अनि प्रहरीको फन्दामा परेपछि भने आइन्दा यस्तो कार्य नदोहो¥याउने बाचा त मानिसले गरेका छन् । तर त्यतिले मात्र पर्याप्त हुने देखिदैन ।
आवश्यक संख्यामा स्वास्थ्यकर्मी, अस्पताल र चुस्त व्यवस्थापकिय क्षमता नभएको हाम्रो जस्तो मुलुकमा यदि यो संक्रमणले भयावह रुप लियो भने त्यसको हामीले ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । त्यसैले अहिले पनि समय छ । बेलैमा सचेत होउँ अनि आफु, परिवार, समाज र राष्ट्रलाई संकटमा पर्नबाट जोगाउँ ।
प्रतिक्रिया दिनुहोस्