
पोखरा । हालै गठन भएको एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर पाउने भएपछि कांग्रेस कास्कीमा व्यापक असन्तुष्टि चुलिएको छ ।
आफ्नो पार्टीको संगठन मजबुत हुँदाहुँदै पनि मेयर अर्कै पार्टीलाई दिएको विरोधमा कार्यकर्ताले जिल्ला कार्यसमिति कार्यालयमा तालाबन्दी गरेका छन् ।
यसअघि कुनै हालतमा मेयर छोड्न नसक्ने बताएका उनीहरूले रुख चिन्हबाट चुनाव लडे सहयोग गर्न सकिने धारणासमेत राख्दै आएका छन् ।
कांग्रेस कास्की सचिव भानु ढकालले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट उम्मेदवार जो भए पनि चुनाव चिन्ह रूख कायम गरेर जाने निर्णय गरियो ।’ उहाँले भनेजस्तो पार्टीभित्र भने कुनै निर्णय भएको छैन ।
यसअघि पनि पार्टीको निर्णय भन्दै गठबन्धनबाट एकीकृत समाजवादीलाई हटाउने विज्ञप्ति निकालेको थियो । गठबन्धन दल एउटै चुनाव चिन्हबाट लड्ने सम्भावना पनि लगभग छैन ।
एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य चुनाव चिन्हबारे छलफल नै अघि नबढेको बताउँनुभएको छ । उहाँले देशैभर एउटै चुनाव चिन्हमा लड्दा सहज हुने भए पनि त्यसबारे अहिले नै निर्णय लिने बेला नभएको बताउनुभयो । ‘देशभर एउटै चिन्हमा गठबन्धन लडे राम्रै हुन्छ । तर छलफल भएको छैन,’ उहाँले भन्नुभयो, ‘नेताहरूलाई सुझाव दिने बेलामा हामी पनि कुरा त राखौंला । तर सम्भावना म देख्दिनँ ।’
पोखराको मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेसले पाउने गरी निर्णय भइसकेको छ । तर उम्मेद्वार को हुने भन्ने दलहरूले टुंग्याएका छैनन् । केन्द्रीय नेतृत्वको उक्त निर्णयको स्थानीयस्तरमा विरोध र आलोचना भने भइरहेको छ । जिल्ला सभापति बराल अन्तिम अवस्थासम्म पनि मेयरको दाबी नछोड्ने बताउनुहुन्छ । ‘११ गतेसम्म पनि प्रयास गर्छौं । मेयर कांग्रेसले नपाए नतिजा निकाल्न सकिँदैन,’ सभापति शेरबहादुर देउवालाई भेटेर निस्किएपछि उहाँले भन्नुभयो, ‘हामीले त्यही ब्रिफिङ गरेका छौं ।’ पोखराको निर्णय भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्