
काठमाडौं, चैत १६ । स्वास्थ सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले विश्व बजारमा नै सामान अभाव भएकोले चीनबाट खरिद गरिएका सामानहरु केही महङ्गो परेको दाबी गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले सामान अभाव भएकोले केही महङ्गो परेको भन्दै अनियमितता भएको नसोच्न आग्रह गरे ।
महानिर्देशक श्रेष्ठले स्वास्थ्य सेवा विभागले खरिद गरेको सम्पूर्ण सामग्रीको विवरण पारदर्शी हुने भन्दै विवरणहरु मन्त्रालयको वेवसाइटमा राखिने जानकारी दिए ।
महानिर्देशक श्रेष्ठले कोरोना संक्रमणको परीक्षणको लागि ७ वटै प्रदेशमा ल्याव स्थापना गर्ने तयारी भइरहेको बताए ।
उनले प्रदेश १ को धरानमा ल्याब संचालन भइसकेको भन्दै बाँकी ६ वटै प्रदेशमा ल्याब स्थापनाको लागि आवश्यक कर्मचारी र विज्ञहरु खटाइसकेको जानकारी दिए ।
स्वास्थकर्मीको सुरक्षाको लागि सरकार सचेत रहेको भन्दै उनले स्वास्थकर्मीलाई आवश्यक पर्ने सबै सुरक्षाका उपकरण गराउने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्