
काठमाडौं । दार्चुलाका सबै स्थानीय तहहरुमा चुनावी तालमेल गर्ने गरि सत्ता गठवन्धनका दलहरुबीच सहमति भएको छ ।
सत्ता गठवन्धन दलहरुको बैठकले नौ स्थानीय तहमध्ये पाँचमा नेपाली कांग्रेस र चारमा नेकपा (माओवादी केन्द्र) ले उम्मेद्वारी दिने गरि सहमति भएको छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक मानवहादुर धामीले दिएको जानकारी अनुसार जिल्लाका दुबै नगरपालिका महाकाली र शैल्यशिखरको प्रमुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिने छ ।
यस्तै, कांग्रेसले तीन गाउँपालिकाहरु मालिकार्जुन, दुँहु र ब्यास गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने सहमति भएको छ । माओवादी केन्द्रले अपि हिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छ ।
माओवादीले व्यास र मालिकार्जुन गाउँपालिकाको उपाध्यक्षमा गठवन्धनको तर्फबाट उम्मेद्वारी दिने छ । गठबन्धनभित्रको अर्को दल नेकपा एकीकृत समाजवादीले पालिकामा दावी गरेको छैन । गठबन्धनको बैठकमा एकीकृत समाजवादी अनुपस्थित रहेको थियो । आफूहरुको पालिकास्तरमा दावी नरहेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वीरबहादुर ठगुन्नाले बताउनुभयो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा निकायले मधेस प्रदेशका मतदानस्थल तथा मतदान केन्द्रको वर्गीकरण गरेको छ । मधेसमा १ हजार ६३ मतदानस्थल र २ हजार ९९ मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा मतदानस्थल तथा मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको हो । प्रहरीले मधेशमा स्थानीय तहको निर्वाचनमा सुरक्षा थ्रेटभन्दा पनि सुरक्षा चुनौति रहेको बताएको छ ।
विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, स–साना समूहहरुले गर्दा सुरक्षा थ्रेट रहे पनि अहिले राजनीतिकको मूल प्रवाहमा आइसकेकाले सुरक्षा अवस्था विगतभन्दा अहिले सामान्य रहेको प्रहरीको मुल्याँकन छ । खुला सीमाका कारण स–साना हातहतियारले सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि नै पूर्ण रुपमा बोर्डर बन्द गरिने जनाएको छ ।
मधेस प्रदेश प्रहरीले सत्ता गठबन्धन र विपक्षी दलबीच हुनसक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरेको छ । मधेसमा १ हजार ६३ वटा मतदानस्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरेकोमा सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्