
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताउनुभएको छ ।
स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनुचित खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि पर्न नदिने दाबी गर्नुभयो ।
ललितपुरमा आयोजित ‘युवासँग म’ अन्तरक्रियामा अध्यक्ष ओलीलाई एक युवाले ‘एक मेहनती युवा’ र ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ भनि प्रश्न गरेका थिए ।
सोही प्रश्नको जवाफ दिने क्रममा उहाँले एमालेलाई कुनै पनि खालको प्रलोभनमा पार्न सम्भव नभएको प्रतिक्रिया दिनुभएको हो ।
अध्यक्ष ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको भन्दै यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने उहाँको तर्क थियो ।
अध्यक्ष ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत खरिद गर्नेहरुको फोटोलाई लिएर भोट माग्न हिँडने पार्टीहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष गर्नुभयो ।
अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरुसँग अन्तरक्रिया सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा युवाहरुले आयात प्रतिस्थापन हुने गरी ठोस कार्यक्रम ल्याउन, संविधानले व्यवस्था गरेको मौलिक हकको कार्यान्वयनमा विशेष ध्यान दिन ओलीलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्