१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


अमेरिकामा कोरोना भाइरसबाट दुई लाखको मृत्यु हुनसक्ने ट्रम्प कार्यदलकै एक विज्ञको चेतावनी


0
Shares

एजेन्सी, चैत्र १७ । अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ ।

अमेरिकी सरकारका एक विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ लाखमा उक्त भाइरसको संक्रमण हुनसक्ने चेतावनी दिएका हुन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलमा रहेका सरुवा रोगविज्ञ डा. एन्थोनी फाउचीले ‘अहिलेको अवस्थामा मृत्यु हुनेको संख्या एकदेखि दुई लाख हुनसक्ने’ बताएको सीएनएनले जनाएको छ । यो संख्यामा मृत्यु हुन संक्रमणको अवस्था तीव्र हुनुपर्ने उनको भनाइ छ ।

अमेरिकामा, विश्वमै सबैभन्दा धेरै १ लाख ४१ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको छ । तैपनि अमेरिकाले लकडाउन गरेको छैन । २४ सय ७५ जनाको त मृत्यु भैसकेको छ ।

डाक्टर फाउचीले न्यूयोर्कले गम्भीर समस्या झेलिसकिएको, न्यूअर्लेन्स गम्भीर समस्यामा रहेको र अरु ठाउँमा पनि गम्भीर समस्या विकसित हुने अवस्था रहेको बताए ।

संक्रमण उच्च भएकामा दैनिक एक लाखभन्दा धेरै भाइरसको जाँच गरेका कारण बढी संख्या देखिएको राष्ट्रपति ट्रम्पको तर्क छ ।

मिसिगन राज्यमा त नर्सहरूले आफ्नो कामको पूरै समय एउटै मास्क लगाउनु परेको त्यो पनि बिरामीले लगाउने खालको भएको त्यहाँका गभर्नरले बताएका थिए ।

अमेरिकामा उपचारका लागि सघाउन चीन नै अग्रसर हुन परेको छ । एउटा चिनियाँ विमान स्वास्थ्य सामग्री बोकेर अमेरिका पुगेको छ ।

चीनले पठाइदिएको पञ्जा, शरीर ढाक्ने सुरक्षित पहिरन (गाउन) र मास्क महामारीबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यमा वितरण गरिने जनाइएको छ ।

आगामी दिनमा चीनबाहेक मलेसिया र भियतनामबाट समेत अत्यावश्यक देखिएका सुरक्षा सामग्री आपूर्ति गरिने जनाइएको छ ।