
हेटौंडा । स्थानीय तह निर्वाचनका लागि स्थानीय तहमा बिहीबार हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।
जिल्लाको दशवटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् । हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुने व्यवस्था रहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारी रहनेछन् ।
निर्वाचन अधिकृतको कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च २ लाख ५५ हजार रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने २ लाख ८५ हजार रुपैयाँ बजेटको सिलिङ दिइएको छ । कार्यालयको सुरक्षामा बढीमा १० जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछ ।
निर्वाचन कार्यालय स्थापनाको कार्यक्रममा जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिसस प्रमुख रघुनाथ खुलाल, कांग्रेस सभापति बुद्ध लामा, नेकपा (एस) उपाध्यक्ष तथा हेटौंडाका उपमेयर मिना कुमारी लामा, अधिवक्ता मदनकुमार दाहाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्