
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा नेकपा(एमाले) केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपटकको स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने बताउनुभएको हो । उहाँले विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै अहिले तराई, मधेशमा एमालेको लहर आएको बताउनुभयो । मधेश प्रदेश एमालेको मजबुद गढ बनेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफुले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो । दाहाल, नेपालले संगठन कब्जामा लिइसकेकाले कार्यकर्तामा अपिल गर्न जानुको विकल्प आफुसँग नरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले पाँच दलीय गठबन्धनले झापामा राप्रपालाई साझा उम्मेदवार बनाएकाले अब यो गठबन्धन छ दलीय गठबन्धन बनेको बताउनुभयो ।
उहाँले एमालेको सुर्य चिन्ह सिध्याउँछु भनेर खान खोज्नेहरुको थुतुनो जलेको टिप्पणी गर्नुभयो । तत्कालिन नेकपामा दाहालले आफुलाई पार्टीबाट निष्काशन गरी मुद्दा चलाएर थुन्ने योजनाका साथमा १९ पृष्ठ लामो अभियोग पत्र ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘एमालेको सुर्य सिध्याउँछु भनेर कुदेकाहरुको थुतुनो आज डढिराखेको छ । एमालेको सुर्य सिध्याउँछु भनेर खान खोज्नेहरुको थुतुनो जलिराखेको छ । गतवर्ष एउटा डरलाग्दो षड्यन्त्र भयो । १९ पृष्ठ लामो पार्टी अध्यक्षका विरुद्ध प्रधानमन्त्रीका विरुद्ध फौजदारी आरोपहरु सहित १९ पृष्ठ लामो अभियोगपत्र अगाडी बढाइयो । यो ठुलो षड्यन्त्र थियो । त्यस अभियोग पत्रबाट के योजना थियो भने पार्टीबाट निष्काशन गर्ने र मुद्धा चलाएर थुन्ने योजना थियो ।’
अध्यक्ष ओलीले आगामी निर्वाचन पछाडी नेकपा(एमाले) संवैधानिक रुपमा, मुल ढोकाबाटै शासन सत्ता सम्हाल्न पुग्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्