
काठमाडौं, चैत्र १७ । दुई दुई पटक प्रधानमन्त्री भैसकेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललाई कूटनीति के हो भन्ने अझै ज्ञान नभएको फेरि छताछुल्ल भएको छ ।
दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेको खुलासा भएपछि उनको कूटनीतिको कच्चापनको धोती फेरि फुस्किएको हो ।
सामान्यतः कूटनीतिको शिष्टाचारमा राष्ट्रपतिलाई देशका तर्फबाट पत्र लेख्ने हैसियत र अधिकार राष्ट्रपतिमा रहन्छ । चिनियाँ राष्ट्रपति कार्यकारीसमेत पनि भएकाले नेपालका प्रधानमन्त्रीले पनि यस्तो पत्र लेख्न सक्छन् । तर पुष्पकमल दाहाल एउटा पार्टीका अध्यक्षसम्म हुन् उनले यसरी लेखेको पत्र अनधिकृत रहेको एक कूटनीतिज्ञले बताए ।
दुई दुई पटक प्रधानमन्त्री भैसकेका दाहाललाई प्रोटोकोल थाहा नभएको त पक्कै होइन होला तर उनले यो आफू पपुलिष्ट अर्थात् लोकप्रिय बन्ने लोभमा गरेको ति कूटनीतिक मामलाका जानकारले बताए ।
राष्ट्रप्रमुख वा कार्यकारी तहबाट यस्तो पत्र लेख्दा पनि सिधै लेख्ने नभई परराष्ट्र मन्त्रालयलाई जानकारी दिएर लेख्नुपर्ने कूटनीतिक प्रचलन रहेको हुन्छ, उनले भने ।
दाहालको यस्तै कच्चापनका कारण उनी यसअघि पनि पटक पटक विवादमा आइसकेका छन् । भेनेजुयला प्रकरणमा उनले लेखेको चिठी यसैगरी विवादमा आएको थियो भने अमेरिका भ्रमण ताका पनि उनी विवादमा तानिएका थिए ।
नेकपा अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सीलाई लेखेको सोही चिठी यतिबेला सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ ।
आइतबार पूर्वप्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सीलाई एक पत्र लेख्दै कोरोना भाइरस नियन्त्रण गर्न सफल भएकामा बधाई दिएका थिए । उनले कोरोना भाइरसको उपचारमा नेपाललाई सघाउन पनि आग्रह गरेका थिए ।
तर उनले लेखेको पत्रमा भएका कूटनीतिक र भाषागत कमजोरीलाई औल्याउँदै अहिले त्यो पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भानुभक्त आचार्य लेख्छन्, ‘प्रचण्ड सरको चिट्ठी अंग्रेजीमा चीनका राष्ट्रपतिलाई । लेख्नै परे नेपालका राष्ट्रपतिले लेख्थिन् होला । मुख हुँदाहुँदै किन नाकले पानी पिउनु परेको भन्ने त समाचार पढ्दै लागेको थियो । अंग्रेजीमा कुटनीतिक लेखाइ यति ठाडो त नहुनु पर्ने भन्ने कुरा पनि सम्झिँए । तर, कोरोना अरिंगालहरुलाई किन उफार्नु भनेर चूपै लागे । अहिले त ट्विटरमा यो अंग्रेजी चिट्ठीको पूरै चीरफार गरेर घुमाइराखेका रहेछन् । लकडाउनका बेला फेसबुके मित्रहरुलाई पनि अलिकति मनोरञ्जन होस् भनेर यता सेयर गरियो । यस्तो लेखाइभन्दा चैं टिकटक बनाउँदा गज्जब हुन्छ । आफ्नो बेइज्जत आफैं नगरौं न हो ।’
https://www.facebook.com/bhanubhakta.acharya
केदार सुवेदीले लेखेको ट्वीटरमा रिट्वीट गर्दै नागरिक समाजका देवेन्द्रराज पाण्डे लेख्छन्, ‘सरकारमा आफुले काम गर्दा, प्रत्यक्ष संवोधन गरेर पत्र सेख्दा योर एक्सलेन्सी लेख्थौं, अब बुढो भइयो तर अहिले पनि सही तेही लाग्छ । स्यानो पत्रमा ठूला गल्ती गल्ती छन्, यस्तो पत्रको मस्यौदा परराष्ट्रले हेर्छ कि हेर्दैन ? अहिलेकोलाई कुरा ठूलो होइन होला म उहिलेकोलाई पीडा ।’
https://twitter.com/kedarsubedi/status/1244245860780781569
डा. पाण्डेको रिट्वीटमाथि प्राध्यापक डम्बर चेम्जोङ लेख्छन्, ‘डा. साव, यो पत्रको मस्यौदा परराष्ट्रकाले हेरे झैँ लागेन । २ नं अध्यक्ष कँरेडले आफै ड्राफ्ट गरेर पठाजस्तो छ, भाषा हेर्दा । यौटा सम्भावना चैँ छ, भरखरै फर्कनुभएका महामहिमले हेर्नुरकेर्नु भयो कि ।’
https://twitter.com/DRP39/status/1244257887838302210
अध्यक्ष दाहालले पत्रमा कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै कोरोना भाइरससँगको लडाइमा जीत हात पारेकोमा नेकपाको तर्फबाट बधाइसमेत दिएका थिए ।
पत्र चार दिनअघि पठाइएको दाहालकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले जानकारी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्