१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


91
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन गराउन ७ सय ५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेको आयोगले जानकारी दिएको छ । हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन् । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने छन् । अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थासमेत निर्वाचन अधिकृतको कार्यालयले हेने बताउनुभयो । मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत यही कार्यालयले गर्ने आयोगले जनाएको छ ।

कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्नुपर्ने सर्त निर्वाचन आयोगले तोकेको छ ।

निर्वाचन अधिकृतको कार्यालय सञ्चालन तथा व्यवस्थापन खर्च २ लाख ५५ हजार रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने २ लाख ८५ हजार रुपैयाँ बजेटको सिलिङ दिइएको छ । कार्यालयको सुरक्षामा बढीमा १० जनासम्म सुरक्षाकर्मी परिचालन हुनेछ । कार्यालयमा खटिने नियुक्ति भएदेखि सुविधा पाउनेछन् ।

मुख्य निर्वाचन अधिकृतले जिल्लाभरिको स्थानीय तहमा समन्वय गर्न प्रत्येक स्थानीय तहको एक हजारका दरले भत्ता पनि पाउने छन् ।