१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रदर्शनीमा देखिएको पुस्तक प्रेम, पाठक भन्छन्- ‘प्रदर्शनीमा पुस्तक किन्नुको बेग्लै मज्जा !’


169
Shares

काठमाडौं । भनिन्छ– पुरानो कपडा लगाउ, नयाँ पुस्तक किन । पुस्तक नै ईबुक संस्करणमा लैजाने हानाथाप बढेपछि कागजमा छापिएका पुस्तकमा रुचि घटेको हो कि भन्ने एकथरिले विश्लेषण गर्ने गरेका छन् ।

तर, पुस्तकका पारखीहरू किताव पढ्दाको रस ईबुकमा नभेटिने अनुभव सुनाउँछन् । एकातिर सामाजिक सञ्जालको आकर्षणले नयाँपुस्तामा पुस्तकप्रतिको मोह घटाएको छ भने त्यही पुस्ता पुस्तकको खोजीमा भौंतारिएको पनि भेटियो ।

सूचना प्रविधिमा आएको परिवर्तनसंगै पठन संस्कृतिमा समेत परिवर्तन आएको छ । अब कितावको पन्नाभन्दा पनि गुगलमा पुस्तक खोज्ने पुस्ताको बाक्लो उपस्थिति देखिन थालिसकेको छ । यद्यपि पुस्तकको प्रदर्शनीलाई उत्सव मान्ने पुस्ताको पनि खाँचो छैन ।

एकै छानो, त्यसमाथि सस्तोमा विविध विधाको पुस्तक पाइने भएपछि त्यसप्रति आकर्षित हुने थुप्रै छन् । सरकारी स्वामित्वमा रहेका नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले हरेक वर्ष झैँ यो वर्ष पनि नेपालका समकालिन लेखक र कबि अनि साहित्यकारहरूको पुस्तक प्रदर्शनीमा राखेका छन् ।

दुईहप्ते प्रदर्शनीमा सबै खाले पुस्तक पारखीहरूको रुचि रहने गरेको छ । उनीहरू फजुल खर्च गर्नुभन्दा पुस्तक खरिद गरी पढ्न सुझाव दिन्छन् ।

साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको पुस्तक प्रदर्शनीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन सर्वाधिक बिक्ने सूचीमा रहेको छ । यसैगरी विश्वेश्वर प्रसाद कोइराला, इतिहासकार बाबुराम आचार्य, लेखनाथ पौड्याल, भीमनीधि तिवारी, बालकृष्ण सम र माधवप्रसाद घिमिरेका कृति पनि उत्तिक्कै रुचाइएको छ ।

भारतीय लेखक रविन्द्रनाथ टेगोरको कृतिले नेपाली पाठकको मन जितेको छ । ईबुकको युगमा पनि पुस्तकप्रति युवा पुस्ताको प्रेम बढेको अनुभव पुस्तक विक्रेता साझा प्रकाशनले जनाएको छ ।

पाठकहरू पनि किताव पसलभन्दा प्रदर्शनीमा पुस्तक किन्नुको बेग्लै मज्जा रहेको बताउँछन् । देशको राजनीतिक, आर्थिक, सामाजिक, ऐतिहासिक मात्र हैन, सांस्कृतिक महत्व बुझ्न पनि प्रदर्शनी हुनु आवश्यक रहेको उनीहरूको मत छ ।

बजारमा नपाइने तर भण्डारमा रहेका दुर्लभ दस्तावेज प्रदर्शनीमा पाइने भएकाले पनि यो अवसर छोड्न नहुने पाठकको विश्लेषण छ । कोभिड संक्रमणका कारण दुई वर्षयता पुस्तक किनबेचमा सुस्तता आएको थियो ।

अहिले भने देशैभरि भएको प्रदर्शनमा पाठकले उत्साहजनक उपस्थिति जनाएका छन् । तर, पुस्तकको मूल्य आकाशिँदा उपभोक्ताको गुनासो रहने गरेको छ । यसतर्फ प्रकाशन संस्थाको ध्यान जान जरुरी छ ।