३ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025


शेयर बजारमा सामान्य सुधार


39
Shares

काठमाडौं । नेपाली शेयर बजार नेप्सेमा बिहीबार सामान्य सुधार भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.९४ अंकले सुधार भएको हो ।

नेप्से परिसूचक २३ सय २५.४५ अंक र सेन्सेटिभ इन्डेक्स २.६ अंकले बढेर ४ सय ४३.१४ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६२ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा बुधबार ३६.७३ अंकले गिरावट आएको थियो भने एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस्तै, मंगलबार नेप्से १३.६७ अंकले बढेको थियो । झिनो सुधार आए सेयर बजारमा १ सय १२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन भने १ सय ३ कम्पनीका सेयरधनीले गुमाए । बजारमा दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

शेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेम्चर लिमिटेडको शेयर मूल्यमा बिहीबार पनि १० प्रतिशत बढेर कारोबार भएको छ ।

सर्किट लागेको जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६४ रुपैयाँ बढेर ७ सय ९ रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयर ३२ रुपैयाँ बढेर ३ सय ८ रुपैयाँ पुगेको छ । नेप्सेमा बिहीबार नेस्डो लघुवित्त, नबिल बैंक, सूर्य लाईफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।