१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सातौं कृषि गणना सुरु, ७२ करोड खर्च लाग्ने अनुमान


117
Shares

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय सातौं कृषि गणना २०७८ सुरू गरेको छ ।

विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख ६ गतेबाट शुरु भएको तथ्याङ्क संकलन कार्य जेठ मसान्तसम्म हुने जनाएको छ ।

कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यसाथ सञ्चालन गरिएको कृषि तथा पशु गणना विभागका निर्देशक डा. महेशकुमार सुवेदीले बताउनुभयो ।

निर्देशक सुवेदीले काठमाडौं ललितपुर र भक्तपुरको हकमा शुक्रबारदेखि मात्रै गणना शुरु हुने जानकारी दिनुभयो । उहाँले कृषि गणनाको प्रारम्भिक नतिजा मंसिर अन्तिमसम्म गर्ने र असार मसान्तसम्म सम्पूर्ण संकलित फारम केन्द्रमा ल्याइसक्ने बताउनुभयो ।

निर्देशक सुवेदीले अहिलेसम्म कृषि गणनाका लागि ५ करोड खर्च भइसकेको र यस वर्ष गणनाको मुख्य समय भएकोले ७२ करोड खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

त्यस्तै केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले तथ्याङ्क विभागले आगामी असोज महिनासम्म तेस्रो लिङ्गीको जनसंख्याको विवरण सार्वजनिक गर्ने बताउनुभयो ।

तेस्रो लिङ्गीहरूको जनसंख्या गणना गर्न सहज नभए पनि राज्यका लागि तथ्याङ्क आवश्यक पर्ने भएकोले राष्ट्रिय जनगणना २०७८ मा यसबारे विवरण संकलन गरिएको उहाँले बताउनुभयो ।

नेपालमा वि.सं. २०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गर्ने गरिन्छ । विगतका कृषि गणनामा जिल्लास्तरीय कृषि तथ्याङ्क मात्रै प्रकाशन गर्दै आएकोमा यस पटक ७ सय ५३ वटै पालिकासम्मको तथ्याङ्क संकलन हुनेछ ।