२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आइतबारदेखि निर्माणको काम ठप्प पार्ने व्यवसायीको चेतावनी


494
Shares

काठमाडौं । निर्माण व्यवसायीहरूले आइतबारदेखि निर्माण परियोजना ठप्प पार्ने भएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरूले कन्स्ट्रक्सन होलिडे गर्न लागेका हुन् ।

निर्माण सामग्रीमा बढेको मूल्यानुसार परियोजनाको बजेट समायोजन गर्नुपर्ने मागसहित व्यवसायीहरू आन्दोलित भएका हुन् । मूल्यवृद्धि सम्बोधन, बिमा निर्देशिका खारेजी र सार्वजनिक खरिद नियमावलीमा भएको त्रुटि सच्याउनुपर्ने माग गर्दै व्यवसायीहरू आन्दोलित छन् ।

महासंघको नेतृत्वमा उनीहरूले बिमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन् । आइतबारदेखि भने निर्माणकार्य बन्द गर्ने महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो । मूल्यवृद्धि स्थिर नभएसम्म वा सरकारले भएको मूल्यवृद्धि सम्बोधन नगरेसम्म कन्स्ट्रक्सन होलिडेमा जान लागेको सिंहले बताउनुभयो ।

आइतबारदेखि देशभर निर्माणकार्य नहुने उहाँले बताउनुभयो । परियोजना सुरु गरेको बेलामा र अहिले निर्माण सामग्रीको मूल्य निकै बढेकाले बढेको मूल्यमा समायोजन गरिनुपर्ने उनीहरूको माग छ । माग पूरा नभएसम्म निर्माणकार्यमा नफर्कने व्यवसायीहरुको चेतावनी छ ।

यस्तो किसिमको समस्या २०६५ सालमा पनि भएको र त्यो बेला मूल्यवृद्धि निर्देशिका जारी गरेर बढेको मूल्यको समायोजन गरेको सिंहले बताउनुभयो ।