
परासी । पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहाँर कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
फेरि उपाध्यक्ष पदमा दोहोरिने इच्छा देखाउनुभएकी कोहाँरलाई कांग्रेसले टिकटका लागि सिफारिस नगरेपछि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
कांग्रेसले उपाध्यक्ष पदको उमेदवारमा २ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा आफ्नो नाम नपरेको भन्दै कोहाँरले असन्तुष्टी जनाउनुभएको थियो ।
‘अध्यक्षको उमेदवारमा १ जना र उपाध्यक्षमा कोहाँरबाहेक २ जनाको नाम सिफारिस गरिएको छ’, नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ कार्य समितिका अध्यक्ष हरिहर चौहानले भन्नुभयो ।
जिल्लाका दुई पालिकामा मात्र गठबन्धन पार्टी मिलेर जानेबारे छलफल भएको छ । तर, सहमति जुटेको छैन । पाल्हीनन्दनसहित अन्य पालिकामा भने गठबन्धनका दलहरूले छुट्टाछुट्टै जाने गरी उमेदवार चयन गरिरहेका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा पाल्हिनन्दनको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसले जितेको थियो । माओवादी केन्द्रले उपाध्यक्ष पद दिने भएपछि कोँहारले कांग्रेस छाड्नुभएको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच कोहाँरलाई माओवादी केन्द्रका नेताहरूले पार्टी प्रवेश गराएका छन् ।
‘जनताले मन पराए पनि कांग्रेसले सिफारिस गरेन,’ उपाध्यक्ष कोहाँरले भन्नुभयो, ‘पार्टीमा आए उपाध्यक्षमा उमेदवार बनाउने सहमति गरेपछि माओवादी केन्द्रमा गएकी हुँ ।’
प्रतिक्रिया दिनुहोस्