
काठमाडौं, चैत्र १७ । काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहतवितरण मापदण्ड–२०७६’ पारित गरेको छ ।
राष्ट्रिय सभा गृहमा बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले राहत पाउनेहरुको मापदण्ड स्वीकृत गरेको हो ।
काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु खाना, खाजा नपाएर समस्या नपरुन् भन्न मापदण्ड बनाइएको महानगरपालिकाले जनाएको छ ।
बैठकपछि मेयर विद्यासुन्दर शाक्यले विपन्न वर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गराउन मापदण्ड बनाइएको जानकारी दिए ।
राहत नपाउनेमा अभिभावक नभएका, आफ्नो आय स्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदजस्ता आश्रमस्थलमा रहेका, अरुको सहयोग एवं सहारामा बाँचेका असहाय व्यक्ति हुनेछन् ।
महानगरपालिकाले आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ भएका र सम्बन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अतिविपन्न परिवार मानी राहत वितरण गरिने उल्लेख गरेको छ ।
राहत पाउनेको वर्गमा संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौं महानगरमा विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका, काठमाडौंमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति पर्ने छन् ।
बैठकले भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा घर–घरमा खाद्यान्न पुर्याउने,सम्बन्धित निकायसँग छलफल गरी आपूर्ति ब्यवस्थालाई सहज बनाउने निर्णय पनि गरेको छ ।
हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्नेहरुको विवरण संकलन थालिसकेको पनि महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्