
काठमाडौं । जुम्लाको तिला गाउँपालिका–३ सार्कीबाडामा आगलागी हुँदा एकै घरका तीनसहित चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र १ वर्षीय दिपेश सार्की रहेका छन् ।
स्थानीय मानसिंह सार्कीको घरमा शुक्रबार राति करिब साढे ११ बजे आलगागी हुँदा मानसिंहका तीन जना छोराछोरीको मृत्यु भएको हो भने १४ वर्षीया तिर्सना भने मानसिंहकी भान्जी रहेको प्रहरीले जनाएको छ । चार दिनअघि तिर्सना मामाको घरमा आएकी थिइन् ।
मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ ।
आगलागीले तीनतले घरको दुई तला पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । सदरमुकाम खलंगादेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्