
स्याङ्जा । जिल्लाको मातृभूमि सामुदायिक पुस्तकालय र रीड नेपालबीच पुस्तकालयको स्तरोन्नतिका लागि सम्झौता भएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको पुस्तकालय र रीड नेपालबीच शनिबार एक कार्यक्रमका बीच ५२ लाख २४ हजार ८ सय ४६ रुपैयाको सम्झौता भएको हो ।
सम्झौतापत्रमा रीड नेपालको तर्फबाट उपनिर्देशक चिनकाजी श्रेष्ठ र पुस्तकालयको तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले हस्ताक्षर गर्नुभयो ।
गण्डकी प्रदेशको नमुना पुस्तकालय र अध्ययनको उत्कृष्ट गन्तव्य बनाउने उद्धेश्यसहित स्थापना भइरहेको पुस्तकालयको पहिलो चरणको भवन निर्माणको कार्य भर्खरै सम्पन्न भएको छ ।
कोभिड महामारी, वर्षायाम लगायतको अवरोधका बीच पनि सम्झौताबमोजिम नै निर्धारित समयमा नै भवन निर्माणको कार्य सम्पन्न भएको हो ।
भवन निर्माणका लागि जापान सरकार, शान्ति भोलुण्टियर एसोसिएसन र रिड नेपालले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।
दोस्रो चरणको सम्झौताबमोजिम जापान सरकार, शान्ति भोलुण्टियर एसोसिएसन र रीड नेपालले उक्त पुस्तकालयलाई भौतिक सामाग्री, पुस्तकहरू, साधनस्रोत, तालिम लगायत अन्य प्राविधिक सहयोगहरू उपलब्ध गराउनेछ ।
दोस्रो चरणको सम्झौता पुस्तकालयलाई आधुनिक, प्रविधिमैत्री र अध्ययनमूलक बनाउन महत्वपूर्ण हुने व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताउनुभयो ।
पुस्तकालयको दिगो परियोजना तथा स्थानीय महिलाहरूको जीवनस्तर र आर्थिक उपार्जन सुधारका लागि महिलाहरूकै सहभागिता र नेतृत्वमा अब छिट्टै महिला सहकारी सञ्चालनमा ल्याइने योजना रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्