२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति अमेरिकी सांसदहरूको आभार


208
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सांसदहरूले एमसीसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गर्नुभएको छ ।

नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरूले नेपालको समृद्धिका लागि, नेपालको जनजीविका र समावेशी विकासका लागि आवश्यक सहयोगलाई निरन्तरता दिन अमेरिकाका दुवै पार्टीका सांसदहरूको तर्फबाट प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।

नेपालको पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नविकरण ऊर्जा नेपालको विकासका लागि अति महत्वपूर्ण स्रोत भएको कुरा आफूहरूले राखेको र त्यसमा पनि सहयोग गर्ने कुरा अमेरिकी सांसदहरूको टोलीले राख्नुभएको समूहका संयोजक डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा अमेरिकी सांसदहरूले संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंशा गर्नुभएको थियो भने नेपालको विपद् व्यवस्थापनमा आवश्यक सहयोगलाई निरन्तरता दिने बताउनुभएको थियो ।

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७५ वर्ष प्रवेश गर्न लागेको अवसरमा अमेरिकी सांसदहरूले नेपाल भ्रमण गर्नुभएको हो । टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरी द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो ।