
काभ्रे । नेपाली कांग्रेस काभ्रेमा उम्मेदवार सिफारिसको विषयलाई लिएर विवाद चर्किएको छ । वैशाख ३० गते हुन लागेको निर्वाचनमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्टि बढेको हो ।
पनौती नगर कार्य समितिले पटक–पटक भएको छलफल र ध्यानाकर्षणको अवमुल्यन गर्दै आकांक्षीको नाम छुटाएर उपल्लो तहमा सिफारिस गरेको भन्दै उनीहरूले खेद जनाएका छन् ।
पनौती नगरपालिकामा मेयरका आकांक्षी १२ जना र उप–मेयरका आकांक्षी ३ जनाले आकांक्षीको नामावली प्रदेश कार्य समितिमा सिफारिस गरिदिन जिल्ला कार्य समितिलाई अनुरोध गर्दै पत्र लेखेका छन् ।
पत्रमा मेयर पदका आकांक्षी भोला थापा, धन बहादुर जंगम, विजयराम कर्माचार्य, प्रल्हाद केसी, अर्जुन बञ्जारा, राधवसिं थापा, राजेश कुमार श्रेष्ठ, राजेन्द्र पसंछे, महेश पौडेल, दिनेश हुमागाई, प्रदीप बोगटी, सुमेश थापा र उपमेयरका आकांक्षी सुमित्रा आचार्य बञ्जारा, आरती सापकोटा र अनिता बस्नेतको नाम समावेश छ ।
यो घटनाले पार्टीको एकता, मर्यादा र परम्परालाई तोड्दै कांग्रेसका नेता÷कार्यकर्तालाई निराश बनाएको उनीहरूको गुनासो छ । यस प्रकारको रबैयाले स्थानीय निर्वाचन र संसदीय निर्वाचन हराउने षड्यन्त्रपूर्ण खेल भएको उनीहरूको ठम्याइ छ ।
घटनाबाट पार्टीलाई जोगाउन र एकता कायमका लागि सम्पूर्ण आकांक्षीको नाम समावेश गरी बागमती प्रदेश कार्य समितिमा सिफारिस गर्न जिल्ला कार्य समिति काभ्रेलाई अनुरोध गरिएको छ । मागहरू सम्बोधन नगरिए आगामी दिनमा हुने गतिविधिहरूको जिम्मेवारी पनौती नगर कार्य समितिले लिनुपर्ने उनीहरूको चेतावनी छ ।
उता, केहि दिन अघि पाँचखाल नगरपालिका नेपाली कांग्रेसको नगर कमिटीले मेयर महेश खरेलको नाम नै सिफारिस नगर्ने चेतावनी दिएपछि हंगामा भएको थियो । चर्को विवाद र बहसपछि मेयरका लागि १० जनाको नाम सिफारिस भएको बुझिएको छ ।
१३ वटा स्थानीय तह रहेको काभ्रेमा हालसम्म सत्तारुढ गठबन्धनले सिट बाँडफाड टुंग्याउन सकेका छैनन ।
प्रतिक्रिया दिनुहोस्