
काठमाडौं । नेपाली कांग्रेसलाई उपत्यकाका दुईवटा महानगरमा उम्मेदवार छनोट गर्न सकस भएको छ ।
निर्वाचन आयोगले आइतबार र सोमबार गरी दुईदिन स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण गरेको छ । उम्मेदवार मनोनयनको पहिलो दिनसम्म कांग्रेसले काठमाडौं उपत्यकाका २ वटा काठमाडौं र ललितपुर महानगरको मेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
सत्ता गठबन्धनमा उपत्यकाका दुईवटै महानगरको मेयर पद कांग्रेसको भागमा परेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहसहित ५ जनाको नाम कांग्रेस महानगर समितिले सिफारिस गरेको छ । तर को उम्मेदवार बन्ने भने अझै टुंगिएको छैन ।
उता ललितपुर महानगरको पनि उम्मेदवार कांग्रेसले टुंगो लगाउन सकेको छैन । कांग्रेसको ललितपुर महानगर कार्यसमितिले मेयरका लागि बर्तमान मेयर चिरिबाबु महर्जज,पूर्व सांसद चन्द्र महर्जन,हालकी उपमेयर गीता सत्याल, प्रेमकृष्ण महर्जन लगायतको नाम पार्टीमा सिफारिस गरेको थियो । चिरिबाबुले मेयरमा दोहोरिन चाहे पनि पूर्व सांसद चन्द्र महर्जनलाई उम्मेदवार बनाउँदा कांग्रेसलाई ललितपुर महानगरमा जित्न सहज हुने कांग्रेस नेताहरुको दाबी छ । चन्द्र कांग्रेस बागमती प्रदेशका उपसभापति पनि हुनुहुन्छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि सबैतिर जसले जित्न सक्छ त्यसैलाई उम्मेदवार बनाउनु पर्ने पक्षमा रहनु भएको कांग्रेस नेताहरुको भनाई छ । चिरिबाबुसँग विगतमा उनले गरेका कतिपय कामका कारण ललितपुर कांग्रेसका नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका कांग्रेस ललितपुरका नेताहरु बताउँछन् ।
कांग्रेसको आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संभवत महानगर, उपमहानगर पालिका लगायत देशका सबै स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाउने र सोमबार मनोनयन पत्र दर्ता गराउन लगाउने एक कांग्रेस नेताले इमेज खबरलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्