२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


गठबन्धनको नाममा पार्टीले महिलालाई उपेक्षा गरेको भन्दै कांग्रेस नेतृहरुले गरे प्रदर्शन


195
Shares

विराटनगर । स्थानीय तहको निर्वाचनमा पार्टीले महिलालाई उपेक्षा गरेको जनाउँदै विराटनगरमा नेपाली कांग्रेसका महिला नेतृ र कार्यकर्ता सडक प्रदर्शनमै उत्रिएका छन् ।

विराटनगरस्थित पार्टीको प्रदेश कार्य समिति कार्यालयमा आज आइतबार बिहान प्रदर्शन गरिएको हो ।

विभिन्न स्थानबाट भेला भएका महिला नेतृहरुले संविधानले प्रदत्त गरेको ३३ प्रतिशत समावेशको विषयलाई पनि पार्टीले उपेक्षा गरेको आरोप लगाएका छन् ।

प्रदेश १ सांसद एवं नेपाल महिला संघ मोरंगकी सभापति शान्ता पौडेलले दलीय गठबन्धनको नाममा पार्टीले सक्षम र पार्टीमा लामो समय काम गरेका महिलालाई अधिकारबाट बन्चित गरेको बताउनुभयो । पार्टीले निर्णय नसच्चाए आन्दोलन अझै तीब्र बनाउने चेतावनी उहाँको थियो ।

आक्रोशित महिलाले चर्को नाराबाजी गरेका थिए । पालिकास्तरमा मेयर उपमेयरमा एक पद पाउनुपर्ने माग गर्दै उनीहरुले महानगरपालिकामा गठबन्धन आवश्यक नरहेको बताए ।