
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेसको संकल्प नाम दिइएको घोषणा पत्र सार्वजनिक गरिएको हो । कांग्रेसले विगत पाँच वर्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उन्मादी महत्वाकांक्षा सबैभन्दा घातक बनेको ठहर गरेको छ । २०७४ को निर्वाचनपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको सरकारले इतिहासमै सर्वाधिक अनुकुल र राजनीतिक स्वर्णिमकाल पाए पनि त्यसको सदुपयोग गर्न नसकेको र यो पाँच वर्ष खेर गएको कांग्रेसले उल्लेख गरेको छ ।
घोषणा पत्रको सारांश प्रस्तुत गर्दै महामन्त्री गगन थापाले गएको पाँच वर्ष नेपालका कम्युनिस्ट दलहरूले खेर फालेको बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी र सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहस नहस पार्ने काम गरेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले ओली सरकारले गरेका खराब कामको फेहरिस्त नै प्रस्तुत गरेको छ । महामन्त्री थापाले नेपाली राजनीतिमा यो पाँच वर्षको उचित मूल्यांकन हुुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसले स्थानीय तह चुनावको घोषणा पत्र सार्वजनिक गर्दा सात वटा कार्य नगर्ने प्रतिबद्धता जनाएको छ । कंग्रेसले घोषणापत्रमा भ्युटावर नबनाउनेदेखि आफन्त र परिवारका सदस्यलाई जागिर नखुवाउने लगायतका सात प्रतिबद्धता जनाएको छ ।
नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने जनाएको छ । यस्तै, महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरा प्रत्यक्ष तथा परोक्ष रूपमा कुनै पनि अवस्थामा संलग्न नहुने पनि प्रतिबद्धता’ पनि घोषणापत्रमा जनाएको छ ।
यस्तै, कानून, आर्थिक तथा वित्तिय उत्तरदायित्व र अनुशासनको उलंघन नगर्ने, निर्दिष्ट योजना र विनियोजित स्रोतभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने पनि कांग्रेसले घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्