१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु


143
Shares

काठमाडौं । निर्वाचन आयोगले आइतबार र सोमबार स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराउने मिति तोकेसँगै उम्मेदवारी मनोनयन दर्ता गराउने क्रम शुरु भएको छ ।

आइतबार देशैभरका पालिका र वडाका वडाका लागि विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गराउने क्रम सुरु भएको हो ।

काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटाले मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । उहाँले राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महानगरपालिकाको मेयरका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभयो । मनोनयन दर्ता गर्दै उहाँले काठमाडौं महानगर वैकल्पिक राजनीतिक केन्द्र हुने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

त्यस्तै आज नै ¥यापर बालेन साहले पनि काठमाडौंको मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । उहाँले राजनीतिक पार्टीको ब्याक ग्राउण्डबाट आउँदा पार्टीका कार्यकर्ता र व्यापारीको चित्त बुझाउनु पर्ने तर स्वतन्त्र उम्मेदवारी दिँदा सबै क्षेत्रमा विकास आफ्नो किसिमबाट गर्न सकिने भएकोले स्वतन्त्र ढंगले उम्मेदवारी मनोनयन दर्ता गराएको बताउनुभयो । उहाँले राम्रो काम गरे पनि बिरोधी पार्टी भएका कारण बिरोध नै भइरहेको भन्दै त्यसलाई तोड्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १८ वटा दर्ता काउण्टर निर्माण गरेर १८ ठाउँबाट मनोनयन दर्ताको व्यवस्था गरिएको छ । आइतबार उम्मेदवारी दर्ताको पहिलो दिन भएकोले धेरै उम्मेदवारी मनोनयन दर्ता नभएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार गरी दुई दिन स्थानीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न समय उपलब्ध गराएको छ ।

आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय सीमा पनि तोकिदिएको छ ।