
काठमाडौं । त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पामा नेकपा माओवादी केन्द्रबाट दिलबहादुर विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले कांग्रेस परित्याग गरेको एक घण्टाभित्र टिकट पाउनुभएको हो ।
नेता कार्यकर्ता र शुभचिन्तकसहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिका पुगेर नेता विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
शनिबार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका विष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिनुभएको थियो ।
नेता विष्टलाई माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामलाल बिक, केन्द्रीय सदस्य काली चलाउने, प्रदेश सभा सदस्य वीरबहादुर शाहीलगायतले स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता विष्टले कांग्रेस सामन्तवाद र पुँजीपति वर्गको पार्टीको भएको बताउँदै माओवादी सर्वहारा वर्गको पार्टी भएकाले सबैले सहयोग गर्न आह्वान गर्नुभयो ।
लामोसमय कांग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीका लागि ठूलो त्याग गर्दै आए पनि अन्तिम अवस्थामा पार्टीले अन्तर्घात गरेपछि विकल्प रोज्न बाध्य भएको उहाँले बताउनुभयो ।
नेता विष्ट जनमत भएका प्रभावशाली नेताको रूपमा परिचित हुनुहुन्छ । पहिलो स्थानीय तहको चुनावमा नगर प्रमुख पदमा झिनो मतान्तरले पराजय भोगेका विष्ट विगत २९ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थीयो । वि. सं. २०५२ सालमा कांग्रेस पार्टी सभापतिसमेत हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्