
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म नगरप्रमुखमा ७ जनालगायत कूल १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो दिन साना दुई राजनीतिक दल र स्वतन्त्र गरी ८ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । त्यस्तै उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको उनले जानकारी दिनुभयो ।
जनकपुरधामको नगरप्रमुखमा पहिलो दिन जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डलको उम्मेदवारी परेको छ । त्यस्तै, स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, उपप्रमुखमा जनमत पार्टीबाट संतोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बनिता यादव र उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । बाँकी ११६ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिनुभयो । उम्मेदवारीबारे विस्तृत जानकारी केहीबेरमा जानकारी दिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्