
स्थानीय तह निर्वाचन : कांग्रेसलाई महानगरमा उम्मेदवार तोक्न सकस, गठबन्धन कतै भत्किदै, कतै जोडिदै
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताको पहिलो दिन सबैजसो स्थानीय तहका लागि निकै कम उम्मेदवारी परेको छ ।
प्रमुख राजनीतिक दलहरुका संयन्त्रहरुले उम्मेदवारको टुंगो लगाउन नसक्दा निकै कम मनोनयन परेको हो ।
स्वतन्त्र उम्मेदवारहरुले भने मनोनयन दर्ता गराएका छन् । सत्तारुढ घटकका पाँच दलले चुनावी तालमेल गर्ने बताए पनि आज पनि अधिकांश जिल्लामा साझा उम्मेदवार खडा गर्न सकेनन् ।
दिनभरजसो नेताहरु छलफलमा व्यस्त देखिएका थिए । प्रमुख र उपप्रमुखमै सहमति जुटाउन नसकेका दलका सत्तारुढ दलका नेताहरुलाई वडातहसम्मको भागवण्डा मिलाउन चुनौति थपिएको छ ।
उता, प्रमुख प्रतिपक्ष नेकपा एमाले तर्फबाट पनि निकै कम स्थानीय तहमा उम्मेदवार मनोनयन गरिएको छ । एमालेभित्र पनि कतिपय ठाउँमा उम्मेदवार टुंग्याउन समस्या देखिएको छ । उम्मेदवार मनोनयन गर्नुपर्ने दिन एमालेका विभिन्न कमिटीहरु नाम टुंग्याउनमै व्यस्त देखिएका छन् ।
एमालेले आइतबार अधिकांश स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ । प्रमुख दलहरुबीच सहमतिको प्रयास जारी रहेकाले सोमबार मात्र उम्मेदवारहरुको मनोनयन हुने छ । आयोगले उम्मेदवारी मनोनयनका लागि आइतबार र सोमबारको समय दिएको छ ।
प्रतिक्रिया दिनुहोस्