१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नागरिकको जीवन रक्षा तथा अहरणीय अधिकार रक्षा गर्न जवाफदेहीता निगरानी समितिको अपिल


0
Shares

काठमाडौं, चैत्र १८ । मानवअधिकारका लागि कार्यरत संस्था तथा व्यक्तिहरुको साझा संगठन जवाफदेहीता निगरानी समितिले नागरिकको जीवन तथा अहरणीय अधिकार रक्षा गर्न अपील गरेको छ ।

समितिका तर्फबाट संयोजक चरण प्रसाईले निकालेको विज्ञप्तिमा मुलुकभित्र एक हप्तादेखि जारी लकडाउनका कारणबाट विपन्न अवस्थामा बाचिरहेका नागरिकको अवस्था दयनीय बन्दै गएको उल्लेख छ । विज्ञप्तिमा बाँच्न पाउँने आधारभुत अधिकार, खाद्य तथा स्वास्थ्य सेवामा पहुँच लगायतका आधारभूत अहरणीय अधिकारसमेतबाट बन्चित भएको भन्ने समाचारले ध्यानाकर्षण भएको भनिएको छ ।

कोरोना भाइरसको मारमा परेका जनताको जीवन रक्षाका लागि तत्काल चाल्नैपर्ने ६ काम गर्न पनि सरकारसँग समितिले माग गरेको छ ।

विज्ञप्तिको पूर्ण पाठः

विश्वभर फैलिएको कोभिड १९ माहामारी (प्यान्डेमिक)को रोकथामका लागि सरकारबाट अपनाएका अत्यावश्यक कदमहरुको प्रशंसा गर्दै मुलुकभित्र एकहप्ता देखि जारी लकडाउनका कारणबाट विपन्नताको अबस्थामा वाँचीरहेका नागरिकहरुको अवस्था दयनिय बन्दै गएको र बाँच्न पाउँने आधारभुत अधिकार, खाद्य तथा स्वास्थ्य सेवामा पहुँच लगायतका आधारभूत अहरणीय अधिकारसमेतबाट बन्चित भएको भन्ने समाचार तथा घटनाहरु सार्वजनिक भएको सन्दर्भमा जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यस परिप्रेक्ष्यमा तत्काल निम्नानुसार कदम चाल्न र जनताको जिवन रक्षा गर्न जवाफदेहिता निगरानी समिति सरकारसमक्ष जोडदार माग गर्दछ ।

१.धादिङ जिल्लामा अन्जाजी ६ हजार ईटाभट्टाका ज्यालादारीमा काम गर्ने मजदुर हाल कामविहीन भएर भोकमरीको सिकार हुनसक्ने समाचारप्रति निगरानी समिति अत्यन्तै संवेदनशील भएको छ । यो एक प्रतिनिधिमूलक घट्ना भएकाले राज्यका अन्य क्षेत्रमा पनि निम्न आय भएका तथा परित्यक्तताको अवस्थामा रहेका नागरिकले यस्तो समस्या भोग्न वाध्य हुुनु परेको हँुदा विपन्न तथा ज्यालामजदुरीबाट दैनिक जिवन गुजारा गर्न वाध्य भएका जोखिममा रहेका वर्गलाई लक्षित गरेर न्यूनतम खाद्य सहायता समेतको रेपिड रेस्पोन्स तथा बिशेष राहात कार्यक्रमका माध्यामवाट जीवनरक्षा गर्न जोडदार आग्रह गर्दछ ।

२.बुटवलको कोरोना बिशेष अस्पतालमा रुपन्देही संैनामैना ४ का ३४ बर्षीया बाबुराम थापा कोरना भाईरसबाट मृत्यु नभएको तत्थ्यबाट नागरिकको स्वास्थ्य संबन्धी अधिकारमाथि लापरवाही भएको पुष्टि भएको छ । यस परिस्थितिबाट थापालाई संक्रमण भएको रोगको उपचार नपाएर जस्तै कोभिड १९ को आशंकामा अकाल निधन हुँने अवस्था नदोहोरिने सुनिश्चित गर्न प्रत्येक अस्पताल तथा क्वारेन्टाइन स्थलमा कार्यरत जोखिममा रहेका स्वास्थ्यकर्मीहरुलार्ई आवश्यक सामाग्री उपलब्ध गराई ती केन्द्रहरुलाई विरामीप्रति जिम्मेवार बनाउन र नागरिकको स्वास्थ्य उपचारमा कुनै कमिकमजोरी आउँन नदिन सरकार समक्ष निगरानी समिति माग गर्दछ ।

३.मुलुकमा संचालित सरकारी तथा निजी अस्पतालहरुले विभिन्न वहानामा आपतकालीन स्वास्थ्यको आवश्यकता भएका विरामी समेतलाई जाँच्न र भर्ना गर्न समेत अस्वीकार गरेबाट उपचारविना नागरिकको ज्यान जोखिममा परेको स्थितिलाई मध्यनजर राखी यस विषम परिस्थितिमा समेत नागरिकको स्वास्थ्यका आधारभुत तथा अहरणीय अधिकारको उपभोगलाई सरकारले सुनिश्चित गरोस भन्ने माग गर्दछ ।

४. नेपालको भारत सिमा नाकामा, बिशेष गरेर भारततर्फको धार्चुलामा अलपत्र परेका नेपाली नागरिकको स्वदेश प्रवेश, स्वास्थ्य परिक्षण, उचित उपचार, काउन्सिलिङ, क्वारेन्टाईनमा रहेकालाई बस्न–खान तथा तिनको अभिलेखको ब्यवस्था तत्काल मिलाई तिनका मुलुकभित्र प्रवेश पाउँने संबैधानिक अधिकारको रक्षा गर्न सरकार समक्ष हामी जोडदार माग गर्दछौं।

५. लकडाउनका समयमा विभिन्न कारणबस त्यसको उलंघन गर्न पुगेका नागरिकहरुलाई प्रहरी–प्रशासनले नियन्त्रणमा लिई निर्मम कुटाई तथा यातना दिने कार्यको हामी घोर निन्दा गर्दछौं । यस्ता अशोभनीय तथा अनुचित कार्य एवं शारीरिक तथा मानसिक यातना, अमानवीय ब्यवहार तत्काल बन्द गर्न र यसमा संलग्न प्रहरी अधिकारीलाई कारवाहीको दायरामा ल्याउँन समेत निगरानी समिति हार्दिक अपिल गर्दछ ।

६. मुलुकभित्र समुहगत रुपमा रहेका र अन्य शरणार्थीहरुको दयनीय अवस्थालाई आत्मासात गर्दै तिनमा कोभिड १९ को संक्रमण फैलन नदिन र विभिन्न कारणबाट आफ्नो मुलुक छाडेर विदेशिन वाध्य भएका शरणार्थीहरुको जिवन रक्षाका लागि उचित राहत तथा अन्य आवश्यक ब्यवस्थाको प्रवन्ध मिलाउन सरकारसंग माग गर्दछ ।

अन्तमा, कोभिड १९ को संक्रमणबाट सार्वजनिक स्वास्थ्य र जिवन रक्षाका लागि सरकारले अगाडी सारेका उचित कदमलाई पूर्णपालना गर्न आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौ ।

जवाफदेही निगरानी समितिको तर्फबाट
चरण प्रसाई, संयोजक