
काठमाडौं, चैत १८ । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) बाट अमेरिकामा चीनमा भन्दा बढी मानिसको मृत्यु भएको छ।
अमेरिकामा नेपाली समयअनुसार मंगलबार रातिसम्ममा ३४ सय २ जनाको मृत्यु भएको हो । यो मृत्यु भाइरसको उत्पत्तिस्थल चीनमाभन्दा बढी हो । चीनमा यसैका कारण अहिलेसम्म ३३ सय ५ जनाको ज्यान गएको छ ।
अमेरिकामा संक्रमितको संख्या उकालो लाग्ने क्रम थामिएको छैन । त्यहाँ करिब १ लाख ७५ हजार संक्रमित छन् ।
विश्वभर मृतकको संख्या पनि ४० हजार ६ सय नाघेको छ । भाइरसबाट ८ लाख २३ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो तथ्यांकअनुसार एक लाख ७४ हजारजना उपचारपछि निको भएका छन् ।
कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा मृत्यु हुनेको संख्या १२ हजार ४२८ पुगेको छ ।
कोरोनासँग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ८ हजार २६९ जनाको मृत्यु भएको छ ।
उता, इरानमा दुई हजार ८९८ जनाको मृत्यु भएको छ भने फ्रान्समा तीन हजार २४ जनाको मृत्यु भएको छ ।
बेलायतमा १७ सय ८९ जनाको मृत्यु हुँदा जर्मनीमा मृतकको संख्या ६८२ पुगेको छ ।
नेदरल्यान्ड्समा एक हजार ३९ जनाको मृत्यु हुँदा बेल्जियममा ७०५ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा १६० जनाको मृत्यु भएको छ भने ब्राजिलमा १६५ जनाको मृत्यु भइसकेको छ ।
भारतमा मृतकको संख्या ३२ पुगेको छ भने एक हजार २५१ जना संक्रमित छन् भने पाकिस्तानमा २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक हजार ८६५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्