१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तोडफोडको घटनाप्रति रेडक्रसको चिन्ता


897
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले डा. नेत्रप्रसाद तिमल्सिना लगायतले रेडक्रसको केन्द्रीय कार्यालयमा प्रवेश गरेर तोडफोड गरेको घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अघिल्लो तदर्थ समितिका अध्यक्ष डा. तिम्सिना लगायतका व्यक्तिहरूले केन्द्रीय कार्यालयमा हथौडा लगायतका सामाग्रीहरूसहित अचानक प्रवेश गरी कार्यालयको दुई ओटा ढोका तोडफोड गरेको आरोप रेडक्रसले लगाएको छ ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले सोमबार विज्ञप्तिमार्फत उक्त घटनाले देशभर छरिएर रहेका रेडक्रसका स्वयंसेवक तथा रेडक्रसकर्मी आश्चर्यचकित र चिन्तित भएको भन्दै रेडक्रसको मर्म र मर्यादा विपरित हुने यस्ता खालका गतिविधिहरू दुःखद र अत्यन्त अशोभनीय रहेको उल्लेख गर्नुभएको छ ।

डा. तिम्सिनाको नेतृत्वले संस्थाको लेटरहेड तथा छाप अनधिकृत रुपमा प्रयोग गर्दै संकटासन्न समुदायप्रति लक्षित कार्यक्रमहरूमा सहयोग नगर्न विभिन्न निकायमा पत्राचार गर्ने, बैँक खाता सञ्चालनमा अवरोध गर्न पत्राचार गर्ने, नियमनकारी र संस्थाका अधिकारीहरूलाई अमर्यादित तवरबाट आक्षेप लगाई विज्ञप्ति जारी गर्ने जस्ता कार्यहरू गरी आम समुदाय र रेडक्रसकर्मीहरू माझ भ्रम सिर्जना गर्ने प्रयास भएकोमा संस्थाको ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ ।