
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ६० प्रतिशत पालिकामा गठबन्धन भएको दाबी गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार पत्रकार सम्मेलन गरेर मुलुकभर ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएको बताउनुभयो ।
गठबन्धनका दलहरूले एकअर्काविरुद्ध उम्मेदवारी दिएका स्थानीय तहमा उम्मेदवारी फिर्ता लिने दिन तथा मतदानको अघिल्लो दिनसम्म पनि मेलमिलापको प्रयास जारी रहने महराले बताउनुभयो ।
उहाँले सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचनमा सफल भएको दाबी गर्दै महराले संघीय निर्वाचनसम्म नै वर्तमानमा साथमा आएका दलहरू मिलेर जाने जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने पनि उहाँको भनाइ थियो ।
केही ठाउँमा कांग्रेसले एमालेसँग गठबन्धन गरेको भन्ने अनौपचारिक खबर आएको भन्दै महराले गठबन्धनभित्र भएको निर्णय कांग्रेसलाई पनि लागु हुने बताउनुभयो । सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका थिए ।
यसैबीच माओवादी केन्द्रले स्थानीय विशेषताअनुसार घोषणापत्र जारी गर्ने भएको छ । महराले पार्टी केन्द्रले सर्कुलर जारी गर्ने र स्थानीय तहहरूले आफ्नो विशेषताअनुसार घोषणापत्र लेख्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्