२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्थानीय तह निर्वाचनका लागि देशभर मनोनयन दर्ता, उम्मेदवार बाजागाजासहित निर्वाचन कार्यालयमा


117
Shares

काठमाडौं । निर्वाचन आयोगले तोकेको अन्तिम दिनमा देशैभरीका प्रत्यासीले मनोनयन दर्ता गराएका छन् ।

मुलुकको राजधानी समेटिएको काठमाडौं महानगरपालिकामा टिकट पाएका उम्मेदवारहरूले तोकिएको समयमा मनोनयन गरे । निर्वाचन आयोगले कार्यकर्ता बटुलेर नाराजुलुससहित तामझामसाथ मनोनयनमा सहभागी नहुन सचेत गराए पनि दलहरूले अवज्ञा गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरूका उम्मेदवार मनोनयन दर्ताको दृश्य हो यो । स्थानीय नेतृत्वका लागि देशैभर मनोनयन दर्ताको समयसीमा अवधिभर उम्मेदवारहरूको मनोनयन दर्ता क्रममा अनियन्त्रित भीडभाड देखियो ।

चुनावका लागि पार्टीबाट टिकट पाएका विभिन्न दलका उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको समय अवधिभर मनोनयन दर्ता गनुपर्ने समय सीमा तोकेका कारण काठमाडौं महानगरको निर्वाचन कार्यालय राष्ट्रिय सभागृहमा विभिन्न दलका झण्डा, बाजागाजा सहित आएका थिए ।

आ–आफना दलको झण्डा अनि उम्मेदवारको समर्थनमा उर्लिएको नाराले चुनावी माहोलको झल्को दिएको थियो । उम्मेदवारहरूलाई निर्वाचन कार्यालयमा प्रवेश गर्दा भीड छिचोल्न हम्मेहम्मे परेको थियो ।

यतिमात्र कहाँ हो र, समाचार संकलनका लागि पुगेका विभिन्न सञ्चारकर्मीहरूको घेरामा पर्दा मनोनयन स्थलसम्म पुग्न उनीहरूलाई निकै कठिन भएको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायत अन्य दलका उम्मेदवारहरूले विहान १० बजेदेखि तोकिएका समयमा उम्मेदवारको मनोनयन दर्ता गरेका हुन् । गठबन्धन दलबाट साझा उम्मेदवारका घोषणा गरिए पनि अन्य दलका कार्यकर्ताहरूको उपस्थिति थिएन ।

मनोनयन दर्ताको पहिलो दिन साना दलका केही उम्मेदवारहरूले मनोनयन दर्ता गरेका थिए । मूलधारका दलले उम्मेदवार टुंग्याउन विलम्ब गर्दा पहिलो दिनभन्दा अन्तिम दिन भने मनोनयन गर्नेको निकै ठूलो भीड लागेको थियो ।

काठमाडौंमा मात्र हैन, देशैभरिका उम्मेदवारहरूले मनोनयनमा नाराबाजी, नाचगान खालका समान शैली अपनाएका थिए ।